एसियन गेम्समा भारत–पाकिस्तान भिडन्त
नागोयामा लगातारको वर्षा र मैदान भिजेका कारण भारत र पाकिस्तानले एसियन गेम्सको क्रिकेटमा आ–आफ्ना क्वार्टरफाइनल खेल खेल्न नपरेपछि दुवै टोली फाइनलतर्फ अघि बढेका छन् ।
प्रतियोगिताको नियमअनुसार पाकिस्तानले हङकङविरुद्ध एक बल पनि नखेली उच्च वरीयताका आधारमा जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । त्यसको केही घण्टापछि भारत र अफगानिस्तानबीचको क्वार्टरफाइनल खेल पनि वर्षाका कारण हुन सकेन । उच्च वरीयताको भारतलाई विजेता मान्दै अघि बढाइएको हो ।
यससँगै कोरोगी एथलेटिक पार्कमा उपस्थित दर्शक भारतका १५ वर्षीय वैभव सूर्यवंशीलाई खेलमा हेर्ने अवसरबाट वञ्चित भए । निर्भीक किशोर सूर्यवंशीले यस वर्षको सुरुआतमा टी–२० इन्डियन प्रिमियर लिगको ब्याटिङतर्फ सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थान हासिल गर्नुभएको थियो ।
अफगानिस्तानका मोहम्मद अकरमले वर्षाका कारण भारतसँग खेल्न नपाउँदा दुःख लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यहाँ खेल खेल्न आएका हौँ तर दुर्भाग्यवश वर्षा भयो । हिजोदेखि नै वर्षा सुरु भएकाले हाम्रो भाग्य कठिन रह्यो । हामी भारतसँग खेल्न पाउँदा खुसी हुने थियौँ, हाम्रा खेलाडी राम्रो लयमा छन् ।”
उहाँले नागोयाको मैदानमा यसअघि दुई खेल खेलिसकेकाले त्यहाँको अवस्थाबारे राम्रो जानकारी भए पनि वर्षाले सबै योजना बिगारेको बताउनुभयो । “हामीले हाम्रो मोबाइल फोनमा पनि वर्षा भइरहेको देखेका थियौँ । सबैजना दुःखी थिए”, उहाँले भन्नुभयो ।
अब मङ्गलबार हुने अन्तिम दुई क्वार्टरफाइनलमा श्रीलङ्काले नेपाल तथा बङ्गलादेशले मलेसियासँग खेल्नेछन् ।



