शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब

मूलखबर संवाददाता
धनगढी, १२ असाेज

सुदूरपश्चिम, १२ असोज /  सुदूरपश्चिम प्रदेश सरकारले पछिल्ला वर्षमा विद्यालय भवनदेखि आवश्यक शैक्षिक पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको छ । अब भौतिक संरचना थपिँदै जाँदा विद्यार्थीको सिकाइ उपलब्धि र शिक्षाको गुणस्तरमा त्यसको प्रतिफल देखाउने दबाब बढेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका नौ जिल्लामा विभिन्न प्रकृतिका दुई हजार ७०० शैक्षिक तथा सामुदायिक संरचना निर्माण भएको छ । यसमा विद्यालय भवन, सूचना तथा सञ्चार प्रविधि संरचना, क्याम्पस तथा छात्रावास भवन, विज्ञान प्रयोगशाला, खेलमैदान, खानेपानी, शौचालय, विद्यालय घेराबार तथा मर्मतसम्भारलगायतका संरचना छन् ।

जिल्लागत रूपमा सबैभन्दा धेरै संरचना कैलालीमा निर्माण गरिएका छन् । पछिल्लो अवधिमा यहाँ एक हजार १७८, डोटीमा २६९, अछाममा २१८, बझाङमा २०९, कञ्चनपुरमा १९०, बाजुरामा १७४, बैतडीमा १७२, डडेल्धुरामा १६२ र दार्चुलामा १२८ संरचना निर्माण गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

निर्माण भएका संरचनामध्ये दुईकोठे विद्यालय भवनको सङ्ख्यामात्रै एक हजार ७२ छ । चारकोठे विद्यालय भवन १७२, सूचना तथा सञ्चार प्रविधि संरचना १८४, सामुदायिक भवन १३५, विद्यालय खेलमैदान १६१, सामुदायिक खेलमैदान ४४, क्याम्पस भवन २९, छात्रावास भवन ३८ र विज्ञान प्रयोगशाला १८ वटा निर्माण भएका छन् ।

मन्त्रालयका उपसचिव जयदेव महराका अनुसार पछिल्लो आर्थिक वर्ष २०८२÷८३ मा मात्रै नौ जिल्लाका सामाजिक विकास कार्यालयमार्फत २२६ संरचना निर्माण भएका छन् । त्यसमा दुईकोठे विद्यालय भवन २०२, चारकोठे भवन १२, छात्रावास नौ र क्याम्पस भवन तीनवटा छन् । जिल्लागत रूपमा डडेल्धुरा र कैलालीमा ४४–४४, अछाममा ४२, डोटीमा ३२, बैतडीमा २३, बझाङमा १७, कञ्चनपुरमा ११, बाजुरामा सात र दार्चुलामा पाँच शैक्षिक पूर्वाधार निर्माण गरिएका हुन् ।

“सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि पूर्वाधार विकास महत्त्वपूर्ण पक्ष हो”, उपसचिव महराले भन्नुभयो, “अब ती संरचनाको प्रभावकारी सञ्चालन, व्यवस्थापन र त्यसको प्रतिफललाई शैक्षिक तथा सामाजिक उपलब्धिमा रूपान्तरण गर्न आवश्यक छ ।”