इरानमाथि निरन्तर अत्याचार भइरहेको छ : इरानी राष्ट्रपति मसुद पेजेस्कियान
संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरान आतंकवादको सिकार भएको दाबी गरेका छन्। न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको दोस्रो दिन सम्बोधन गर्दै उनले अमेरिका र इजरायलको नीतिको कडा आलोचना गरे।
पेजेस्कियानले आफ्नो सम्बोधन सुरु गर्नासाथ अमेरिकी प्रतिनिधिमण्डलका अधिकारीहरू सभा हलबाट बाहिरिएका थिए। सम्बोधनका क्रममा उनले अमेरिका-इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनी तथा मिनाब प्राथमिक विद्यालयमा भएको आक्रमणमा ज्यान गुमाएका बालबालिकाको तस्बिर देखाए। उनले इरानमाथि निरन्तर अत्याचार भइरहेको बताए।
‘हाम्रा विश्वविद्यालय, स्वास्थ्य केन्द्र र विद्यालयहरूमा आक्रमण गरिएको छ,’ तस्बिर देखाउँदै इरानी राष्ट्रपतिले भने, ‘हामी आतंकवादका पीडित हौँ तर हामीमाथि नै प्रतिबन्ध र सजाय थुपारिएको छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिधा सम्बोधन गर्दै उनले प्रतिबन्ध र धम्कीका अगाडि इरानी जनताले कहिल्यै घुँडा नटेक्ने स्पष्ट पारे। ‘हामी दबाब र बलको भाषा स्वीकार गर्दैनौँ, तर सम्मानजनक वार्ता र कूटनीतिका लागि सधैँ तयार छौँ,’ उनले भने।
इरानले कहिल्यै आणविक हतियार नखोजेको दाबी गर्दै उनले शान्तिपूर्ण आणविक प्रविधिको अधिकारबाट पछि नहट्ने दोहोर्याए। इजरायलको आणविक हतियारबारे अन्तर्राष्ट्रिय समुदाय मौन बसेको पनि उनले बताए । तर इरानमाथि भने निरन्तर प्रतिबन्ध लगाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै, उनले गाजामा अन्तर्राष्ट्रिय संयन्त्रको असफल भएको टिप्पणी गरे।- एजेन्सी



