पाकिस्तानी राजदूत खानद्वारा भोटेकोशी बाढीबाट भएको जनधनकाे क्षतिप्रति दुःख व्यक्त

मूलखबर संवाददाता
काठमाडौं, १७ भदौ

नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राजदूत खानले बुधबार परराष्ट्र मन्त्रालय, नेपालमा पुगेर बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन् । उनले बाढीका कारण ठूलो संख्यामा मानिसको ज्यान गएको तथा भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेकोप्रति दुःख व्यक्त गरेका छन् ।

शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनले विपद्को यस दुःखद घडीमा पाकिस्तान सरकार र पाकिस्तानी जनता नेपाल सरकार तथा नेपाली जनताको साथमा रहेको उल्लेख गरेका छन् ।
भोटेकोशी नदीमा आएको बाढीले उत्तरी नेपालका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनाउनुका साथै सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बाढी र पहिरोका कारण कतिपय क्षेत्रमा आवागमन तथा सञ्चारसमेत प्रभावित भएको छ ।

राजदूत खानको शोक सन्देशलाई नेपालप्रति पाकिस्तानको ऐक्यबद्धता र मानवीय सहानुभूतिको अभिव्यक्तिका रूपमा हेरिएको छ । पाकिस्तानले यसअघि पनि नेपालमा भएका प्राकृतिक विपद्का घटनामा दुःख व्यक्त गर्दै नेपाली जनता र सरकारप्रति ऐक्यबद्धता जनाउँदै आएको छ।