पाकिस्तानद्वारा नेपालका बाढीपीडितलाइ सबै प्रकारको सहयाेग गर्ने प्रतिवद्दता

मूलखबर संवाददाता
काठमाडौं, भदाै

 पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले उत्तरी नेपालको तिब्बत सीमाक्षेत्रमा आएको आकस्मिक बाढी तथा पहिरोबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति जरदारीले सामाजिक सञ्जाल एक्समार्फत बाढी र पहिरोमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा अझै सम्पर्कविहीन रहेकाहरू सकुशल फेला पर्ने कामना गरेका छन्।

यसैबीच, पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

डारले बाढीका कारण अझै सम्पर्कविहीन रहेकाहरू सुरक्षित रूपमा परिवारको सम्पर्कमा आउने कामना गर्दै विपद्को यस कठिन घडीमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन्। साथै, उनले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन पाकिस्तान तयार रहेको उल्लेख गरेका छन्।

रासुवालगायत नेपाल–चीन सीमाक्षेत्रमा आएको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ र उद्धार तथा खोजी कार्य जारी छ।