आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताउनुभएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा शुक्लाफाँटा आरक्षबाट विस्थापितको भेलालाई सम्बोधन गर्दै उहाँले पीडितको मागअनुसार सरकारले आयोग गठन गरी समस्या समाधान गर्ने बताउनुभएको हो । “आरक्ष विस्थापितको समस्या समाधानका लागि तपाईँहरूका मागअनुसार एकडेढ साताभित्रै आयोग गठन हुँदैछ”, मन्त्री रावलले भन्नुभयो, “उक्त आयोगले समस्या समाधानको निकास निकाल्ने छ ।”
समस्या समाधानको प्रक्रिया अघि बढिसकेकाले धैर्य गरेर बस्न आग्रह गर्दै उहाँले अब माग लिएर काठमाडौँ धाउन नपर्ने बताउनुभयो । “सरकार समाधानको बाटोमा अघि बढिसकेको छ, आयोगलाई काम गर्न सहयोग गर्नुहोस्”, उहाँले भन्नुभयो ।
आरक्ष विस्थापितका नाममा थप राजनीति नगर्न आग्रह गर्दै मन्त्री रावलले समस्या समाधानको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्नुभयो । उहाँले विस्थापितलाई आन्दोलनका कार्यक्रम अन्त्य गरी आयोगलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका करिब दुई हजार आरक्षपीडित विभिन्न स्थानमा कष्टकर जीवन बिताउँदै आएका छन् । पीडितले आफूहरूको उचित व्यवस्थापनको माग गर्दै विभिन्न समयमा आन्दोलन गर्दै आएका छन् ।
त्यसैगरी, मन्त्री रावलले कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका भूमिहीन सुकुमवासीसँग भेट गरी सरकारले लालपुर्जा वितरण गर्ने भएकाले ढुक्क भएर बस्न आग्रह गर्नुभयो । “तपाईँहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनी सुधार पनि भइसकेको छ”, उहाँले भन्नुभयो, “अब जिल्ला भूमि आयोगले छिटो काम अघि बढाएर तपाईँहरूलाई लालपुर्जा दिनेछ ।”



