क्रियाशील पत्रकार महिलाको अध्यक्षमा तिवारी
क्रियाशील पत्रकार महिला रुपन्देहीको १६औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आज बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिकला अधिकारी, सचिवमा बिन्दु भट्टराई, कोषाध्यक्षमा सावित्रा अर्याल, सहसचिवमा कमला अर्याल तथा सदस्यमा कल्पना शर्मा, सृजना भट्टराई, मनिषा नेपाली र लक्ष्मी पाण्डे चयन हुनु भएको छ ।
सो अवसरमा क्रियाशील पत्रकार महिला रुपन्देहीले २०६९ सालमा स्थापना गरेको ‘संघर्षशील पत्रकार महिला सम्मान’बाट संस्थाका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश उपाध्यक्ष भगवती पाण्डेलाई नगद रु १५ हजार सहित सम्मान गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले पत्रकार पाण्डेलाई सम्मान गर्दै आगामी दिनमा सस्थासँगको सहकार्यमा महिला सञ्चारकर्मीको व्यक्तित्व विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल, लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, रुपन्देही अध्यक्ष दिनेश पाण्डे, सम्मानित व्यक्तित्व तथा क्रियाशील पत्रकार महिला रुपन्देहीका संस्थापक अध्यक्ष भगवती पाण्डे, सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कवीन्द्र नेपाललगायतले पत्रकारको समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । वक्ताहरूले संस्थाले आफ्नो उद्देश्यअनुसार काम गर्दै सङ्ख्यात्मकभन्दा गुणात्मक परिणाममा जोड दिनुपर्ने धारणा राखेका थिए ।
संस्थाकी अध्यक्ष तिवारीले संस्थाले गरेका कामसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महिला पत्रकारको क्षमता तथा नेतृत्व विकास, नीतिगत पैरवी र समाचार लेखनमा संस्थाले विशेष जोड दिने बताउनुभयो । संस्थाकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक हरिकला अधिकारी र सचिव बिन्दु भट्टराईले आ–आफ्नो धारणा राख्नुभएको थियो । यसअघि पत्रकारहरू कमला कुँवर, इन्दिरा अर्याल, माया गौतम, दुर्गा पौडेल र इन्दिरा खनाल सम्मानित भइसक्नुभएको छ ।



