तीन वर्षीय बालिका गरिमाकाे बलत्कार र हत्याका दाेषीलाइ कडा कानुनी कार्बाही गर्न प्रचण्डकाे माग
नेकपा संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराकाे सिमरामा तीन वर्षीय बालिकाकाे बलत्कार र हत्याका दाेषीलाइ कडा कानुनी कार्बाही गर्न माग गरेका छन् ।
उनले एक प्रेस नाेट जारी गर्दै बलात्कारपछि बिभत्स रूपमा हत्या गरिएकी तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको हृदयविदारक घटनाले हामी सबैलाई स्तब्ध र आक्रोशित बनाएको बताएका छन् ।
उनले गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा युवाहरूले उठाएको आवाजप्रति पूर्ण ऐक्यबद्धता पनि जनाएका छन् ।
उनले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
उनले लेखेका छन् –
बाराको सिमरामा बलात्कारपछि बिभत्स रूपमा हत्या गरिएकी तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको हृदयविदारक घटनाले हामी सबैलाई स्तब्ध र आक्रोशित बनाएको छ। यस्ता जघन्य अपराध कुनै पनि सभ्य र संवेदनशील समाजका लागि कदापि स्वीकार्य हुन सक्दैनन्।
गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा युवाहरूले उठाएको आवाजप्रति मेरो पूर्ण ऐक्यबद्धता छ।
गरिमामाथिको अपराध केवल एउटा परिवारमाथिको पीडा होइन, यो हाम्रो राज्य, समाज र न्याय प्रणालीलाई नै गम्भीर प्रश्न हो। हाम्रा छोरीहरु भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व हो।
त्यसैले यस घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु।



