सर्वाेच्चकाे परमादेशपछि जनआस्था सम्पादक किशोर श्रेष्ठ रिहा
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन् । उनकी श्रीमती सरस्वती श्रेष्ठकाे बन्दी प्रत्यक्षीकरणा रिटमाथी सुनुवाइ गर्दै उनकाे माग अनुसार श्रेष्ठलाइ छोड्ने आदेश भएको हाे । सर्वोच्च अदालतका न्यायाधीशद्धय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले भर्खरै परमादेश जारी गरेको हो ।
श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साउन २९ गते न्यायाधीश ढकालको इजलासमा सुनुवाइ भएकोमा बरामद भएका उपकरणसहित श्रेष्ठलाई आज अदालत उपस्थित गराउने आदेश भएको थियो ।
श्रेष्ठको तर्फबाट आज १७ जना कानुन व्यवसायीले बहसमा भाग लिएका थिए । उजुरीकर्ता आफैंले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरबारे समाचार बनाउँदा कसरी वैयक्तिक गोपनीयता हनन भयो ? भनि उनीहरुले प्रश्न गरेका थिए । यता, न्यायाधीशले सरकारी वकिललाई पनि सोही प्रश्न सोधे ।
सुनुवाइपछि उनलाई छोड्ने आदेश दिइएको हो । जनआस्था अनलाइनले अघिल्लो साताको सोमबार एक माननीय र युवतीले चुम्बन गरिरहेको तस्बिरसहित समाचार प्रकाशित गरेको थियो । सो तस्बिर युवतीकै फेसबुकबाट सार्वजनिक भएकोमा उनले वैयक्तिक गोपनीयता हननको जाहेरी दिएकी हुन् ।



