कोसी प्रदेशमा आज मन्त्रिपरिषद् हेरफेर हुँदै, आजै सपथ ग्रहण
कोसी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको सत्ता साझेदारीमा आज मन्त्रिपरिषद् हेरफेर हुँदैछ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबिच साउन पहिलो साता भएको तीन बुँदे सहमतीअनुसार कोसी प्रदेशमा आज मन्त्रिपरिषद् हेरफेर हुन लागेको हो।
सरकारको साझेदार दल नेकपाले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाउने बित्तिकै आजै दिउँसो सरकार विस्तारको तयारी मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका छन्।
सरकार हेरफेर तथा मन्त्रीहरूको जिम्मेवारी तोकिएपछि आजै दिउँसो तिन बजे मन्त्रीहरूको पद तथा गोपनियताको लागि शपथ ग्रहणको कार्यक्रमसमेत अनौपचारिक रुपमा तयारी गरिएको छ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच कोसी प्रदेशमा मन्त्रालयको भागबण्डाको टुङ्गो लागेसँगै सरकार विस्तार हुन लागेको हो। नेकपा एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय राख्ने र नेकपालाई चार मन्त्रालय दिने सहमती भइसकेको छ।
तर कुन कुन मन्त्रालय नेकपाले पाउँदैछ भन्ने विषय भने गोप्य नै राखिएको छ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार, नेकपाले पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पर्यटन र स्वास्थ्य वा कृषि मध्ये एक मन्त्रालयको नेतृत्व गर्ने सम्भावना छ।
आजै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी भइरहँदा नेकपाले भने मन्त्रीहरूको टुङ्गो अझै लगाउन सकेको छैन।
शुक्रबार साँझ अबेरसम्म बसेको नेकपा संसदीय दलको बैठकमा नेकपाका १७ मध्ये १४ जना सांसदहरूले मन्त्री बन्ने इच्छा व्यक्त गरेका थिए।
संसदीय दलमा सांसदहरूको आकांक्षा र दाबी सुनेका पार्टीका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संयोजक हर्कबहादुर नेम्वाङ्ग र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायतका नेताहरू बिहान ९ बजे फेरि बैठक बस्दैछन्।
मन्त्री टुङ्गो लगाउने जिम्मा पार्टी इन्चार्ज राई, संयोजक नेम्वाङ र दल नेता आङ्बोलाई दिएपछि उनीहरूको आजै बस्ने बैठकले मन्त्रीहरूको नामलाई अन्तिम रूप दिने तयारी छ।
नेता आङ्गोले नेपालखबरसँग भने, ‘सरकारमा जाने विषयमा आजै मन्त्रीहरूको नामलाई अन्तिम रूप दिएर साँझसम्ममा सबै विषयहरु टुङ्गो लाग्छ। नेकपा पदाधिकारीको बैठक संसदीय दलका नेता आङबोको निवासमा बस्ने तय भएको छ।’



