एनसेलले गोरखा र लमजुङमा थ्रिजी सेवा बन्द गर्दै, यस्तो छ कारण
काठमाडौं/ १ भदौ
चौथो पुस्ताको फोरजी सेवाको पहुँच बढेसँगै नयाँ प्रविधि अपनाउने आफ्नो योजना अनुसार गण्डकी प्रदेश अन्तर्गत गोरखा र लमजुङ् जिल्लाका विभिन्न स्थानियतहहरुमा एनसेलले तेस्रो पुस्ताको थ्रिजी सेवा भोलि भाद्र १ गतेबाट बन्द गर्ने भएको छ । योसँगै अब थ्रिजी चलाउने प्रयोगकर्ताले नयाँ प्रविधिको फाइदा लिन फोरजी सेवा लिन सक्छन् ।
थ्रिजी सेवा बन्द हुने स्थानको सुचीमा गोरखा जिल्लाका गोरखा, आरुघाट, पालुङ्टार, अजिरकोट, शहीद लखन, भिमसेन थापा, गण्डकी, बारपाक सुलिकोट, धार्चेलगायतका स्थानियतहहरु रहेका छन् भने लमजुङ्का मर्स्याङ्दी, दुधपोखरी, सुन्दरबजार, दोर्दी, राईनास, बेशीशहर र क्व्होलासोथार रहेका छन् । त्यसैगरी नवलपरासी पूर्वको बौदीकालीमा पनि थ्रिजी बन्द हुनेछ ।
‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउने र भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत गर्न थ्रिजी सेवा बन्दै गर्दै लगिएको एनसेलले जनाएको छ । भोल्टेको फाइदा लिन फोरजी चल्ने मोबाइल र सीम प्रयोग गर्ने ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङ्मा भोल्टे अन गर्नु पर्ने हुन्छ ।
भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रुपमा छिटो समयमा नै स्थापित हुन्छ । ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्छन् । *१२३*११# डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ । भोल्टे सक्रिय भएपछि ग्राहकहरुले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङ्मा भोल्टे अन गर्नुपर्ने हुन्छ ।
कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी नै चलाइरहेका पनि हुन्छन् । भोल्टे प्रविधिको फाइदा लिन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा इ–सिम अनि फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ । कुन–कुन मोबाइल फोन ब्रान्ड अनि मोडलमा यो सेवाको उपभोग गर्न सकिन्छ अनि कसरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ लगायतका जानकारी एनसेलको वेबसाइट अनि एनसेल एप मार्फत प्राप्त गर्न सकिने एनसेलले बताएको छ ।
उन्नत प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने योजना अनुरुप एनसेलले थ्रिजी सेवा चरणगत रुपमा बन्द गर्दै आएको छ । थ्रिजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो । प्रविधिमा अपग्रेड भएपछि उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूले उही शुल्कमा भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गर्न सक्छन् ।
कम्पनीका अनुसार स्मार्टफोनको प्रयोग र फोरजी लिनेको संख्या बढि भएपनि अझै थुप्रै प्रयोगकर्ताहरु फोरजीमा अपग्रेड हुन बाँकी रहेका छन् । देशको झण्डै ९५ प्रतिशत जनसंख्यामाझ पहिला नै पुगिसकेको फोरजीमा आधारित भोल्टेमार्फत गुणस्तरीय भ्वाइसका साथै मोबाइल ब्रोडव्याण्ड सेवा प्रदान गर्ने एनसेलको योजना रहेको छ । त्यसैले कम्पनीले ग्राहकहरूलाई भोल्टे सेवा लिनका लागि लामो समयदेखि आग्रह गर्दै आएको छ । यसअघि गत असार र माघमा कम्पनीले विभिन्न जिल्लाका स्थानियतहहरुमा थ्रिजी बन्द गरेको थियो ।



