रास्वपा सांसद श्रद्धा कुँवरकाे दुखेसाे – हामी मान्छे भएर बाँच्न विर्सियाैं कि !
रास्वपा सांसद श्रद्वा कुँवरले रास्वपाका कतिपय नेता र सांसदहरूमा गलत प्रवृत्ति बढ्दै गएकाे संकेत गरेकी छिन् । उनलेे आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै संसार बदल्न खोज्ने तर आफु चाहि बदलिन नखोज्ने प्रवृत्ति बढ्दाे लेखेकी छिन् ।
सांसद खगेन्द्र सुनारलगायतका सांसदहरूकाे शैली र आचरणकाे बारेमा सार्वजनिक प्रश्न उठिरहेका बेला उनकाे याे स्टाटस आएकाे हाे ।
उनलेे लेखेकी छिन् –
सञ्जालले सहज बनाएको हाम्रो अभिव्यक्ति र त्यही सञ्जालले जन्माएको हाम्रो राक्षसी मानसिकता देख्दा कहिलेकाहीँ लाग्छ,हामीले प्रविधि त धेरै छिटो सिक्यौँ, तर मान्छे भएर बाँच्न भने बिर्सिंदै गयौँ।
हो, मलाई थाहा छ, उमेर, परिवेश, संगत र जीवनमा घटेका घटनाहरूले नै हामीलाई हरेक दिन फरक बनाउँछन्। हिजोको हामी र आजको हामी उस्तै हुँदैनौँ। सोच बदलिन्छ, बुझाइ बदलिन्छ, प्राथमिकता बदलिन्छ। तर प्रश्न यति मात्र हो।के हामीले साँच्चिकै ध्यान दिनुपर्ने विषयमा ध्यान दिएका छौँ? के हामीले आफूभित्र आएको परिवर्तनलाई कहिल्यै नियालेर हेरेका छौँ? कि अरूलाई हेर्न, अरूलाई नाप्न र अरूको जीवनमाथि टिप्पणी गर्नमै हाम्रो धेरै समय बितिरहेको छ?
देशमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र गुणस्तरीय जीवनजस्ता विषयमा हामीले अझ धेरै मेहनत गर्नुपर्नेछ। तर विकासको अर्को महत्वपूर्ण आधार नागरिक चेतना र जिम्मेवारीबोधका विषयमा हामीले पर्याप्त ध्यान दिएका छौँ त?
हामी अधिकारका कुरा गर्छौँ। स्वतन्त्रताको कुरा गर्छौँ। आफ्नो आवाजको कुरा गर्छौँ। तर कतै अधिकार माग्दै गर्दा आफ्नै जिम्मेवारी निर्वाह गर्न त चुकेका छैनौँ?
हामीले कति पटक आफ्ना शब्दले अर्को व्यक्तिलाई हौसला दिएका छौँ? कति पटक कसैको संघर्ष बुझ्ने प्रयास गरेका छौँ? अनि कति पटक आफ्ना केही शब्दले अर्को व्यक्तिको मनमा कति गहिरो चोट पुर्याउन सक्छ भन्ने सोचेर बोलेका छौँ?
तर सायद यही ‘यति मात्र’ चाहना पनि यो संसारमा कहिलेकाहीँ धेरै ठूलो माग जस्तो देखिँदो रहेछ।
त्यसैले आज फेरि आफैँलाई सोधिरहेकी छु।हामी साँच्चिकै स्वतन्त्र हुँदैछौँ कि केवल आफ्ना शब्दहरूलाई स्वतन्त्र बनाउँदैछौँ? हामी साँच्चिकै चेतनशील हुँदैछौँ कि अरूको जीवनमा निर्णय सुनाउन मात्र अभ्यस्त हुँदैछौँ?
स्वतन्त्रता भनेको आफूलाई बोल्ने अधिकार मात्र होइन, अरूलाई पनि आफ्नो अस्तित्व र विचारसहित बाँच्न दिने संस्कार हो। चेतना भनेको अरूको कमजोरी देख्नु मात्र होइन, आफ्नै व्यवहारमाथि प्रश्न गर्न सक्नु पनि हो। र अधिकार भनेको माग्नु मात्र होइन, त्यससँग जोडिएको जिम्मेवारी स्वीकार गर्नु पनि हो।
संसार बदल्न खोज्ने तर आफु चाहि बदलिन नखोज्ने प्रवृत्ति खतरनाक हुन्छ।
सायद सबैभन्दा ठूलो परिवर्तन हामीभन्दा बाहिरबाट होइन, हामी भित्रैबाट यानिकी हाम्रो मन-मष्तिष्कबाट सुरु हुन आवश्यक छ।
किनकि समाज बदल्नुअघि हामीले आफूलाई बदल्न सिक्नुपर्छ। र सायद त्यही दिनदेखि हाम्रो स्वतन्त्रता केवल शब्दमा होइन, व्यवहारमा पनि देखिन थाल्नेछ।



