जनआस्था कार्यालयमा एकाविहानै प्रहरीद्वारा खानतलासी, कम्प्युटर र अन्य सामग्री लगियाे

मूलखबर संवाददाता
काठमाडौं, २८ साउन

जनआस्था साप्तहिकका सम्पादक एवम् सञ्चालक पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनआस्था कार्यालयमा एकाविहानै खानतलासी समेत गरेको छ । आज बिहानै प्रहरीको एक टोली सानेपास्थित जनआस्था कार्यालयमा पुगेर खानतलासी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर र कम्प्युटरजन्य डिभाइस हेर्नुपर्ने भएकाले खानतलासी गरेको बताएका छन् ।

आज बिहान सातै बजे प्रहरी टोली पुगेको थियो । चार–पाँच जना प्रहरीहरु कार्यालयभित्र र अरु बाहिर बसेका थिए । भित्र पसेका प्रहरीहरुले कागजपत्र र कार्यालयका विभिन्न इलेक्ट्रोनिक डिभाइस संकलन गरेको एक पत्रकारले बताए ।

पत्रकार किशोर श्रेष्ठलाई गएराति प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासंघले बिहान नाै बजेदेखी भद्रकालीस्थित प्रहरी परिसरमा धर्ना दिन शुरू गरेकाे छ ।