लेखा समितिमा प्रहरीमाथि भ्रष्टाचारकाे आरोप, आइजीपी कार्कीद्वारा खण्डन

मूलखबर संवाददाता
काठमाडौं, २७ साउन

रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीमाथि लगाएको आर्थिक अनियमितताको आरोप आइजीपी दानबहादुर कार्कीले खण्डन गरेका छन् ।

आज संसदीय समितिमा नेपाल प्रहरीको पोशाक खरिदमा भएको भनिएको घोटाला प्रकरणमाथि छलफल हुँदा खगेन्द्रले छानविन समिति गठनको माग गरेपछि आइजीले जवाफ फर्काएका हुन् । प्रहरीलाई बद्नाम गर्न यस्ता विषय उछालिएको गुनासो उनले गरे ।

सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा त्यसअघि खगेन्द्रले प्रहरीको सामग्री खरिदमा अनियमितता भएको दाबी गर्दै आइजी कार्कीमाथि समेत प्रश्न उठेको बताएका थिए । उनले तत्काल निष्पक्ष छानविन हुनुपर्नेमा जोड दिए ।​

प्रहरीको जुत्ता, मोजा, कपडामात्र नभई लाठी (भाटा) खरिदमा समेत भ्रष्टाचार भएको आरोप सार्वजनिक रूपमा उठिरहेको उल्लेख गर्दै खगेन्द्रले भने, ‘सामान खरिदमा भ्रष्टाचार गर्ने, जुत्ता खरिदमा भ्रष्टाचार गर्ने, अरु त अरु लठ्ठी (भाटा) खरिदमा भ्रष्टाचार गर्ने । भाटा खरिदमा भ्रष्टाचार हुन्छ भन्ने त्यो भाटाले कसलाई हान्ने हो फेरि ? भ्रष्टाचार गरेर खरिद गरेको भाटाले जनतालाई हान्न पाइँदैन ।’

सामान खरिदसम्बन्धी विवादका कारण नेपाल प्रहरीको मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमै देशकै छवि बिग्रिएको उनको दाबी रह्यो । भ्रष्टाचारविरुद्ध लड्न जनताले आफूहरूलाई संसद्‌मा पठाएको पुरानै भनाइ उनले यो बैठकमा पनि दोहोर्याएका थिए ।

त्यसपछि बोलेका ​​आइजी कार्कीले भने प्रहरीको खरिद प्रक्रियामा कुनै पनि किसिमको आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको स्पष्ट पारे । उनले कसैको नाम उच्चारण नगरी सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित हुनुपर्ने बताउँदै खगेन्द्रप्रति असन्तुष्टि जनाएका थिए ।

वर्षौँदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका व्यक्तिहरूलाई विना आधार जथाभावी आरोप लगाउने प्रवृत्तिले कार्यसम्पादनमा असर पुग्ने चेतावनी आइजीले दिए । जिम्मेवार ठाउँमा बसेर बोलिने शब्द र व्यवहारमा संवेदनशीलता अपनाउनुपर्ने उल्लेख गर्दै तथ्यहीन आरोपले कर्मचारीहरूको मनोबल गिराउन सक्ने भन्दै सचेत गराए ।

सो क्रममा उनले प्रहरी प्रशासनमाथि पर्ने विभिन्न उजुरी र निवेदनहरूको सन्दर्भमा एउटै दृष्टिकोणले हेर्न नहुने मत पनि राखे ।

‘आजसम्म निष्ठापूर्ण काम गर्या मान्छेलाई ल्याएर अब यहाँ जे मन लाग्यो त्यही भन्या छ । जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला त, कुनैपनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि’, असन्तुष्टि जनाउँदै आइजीले जवाफ फर्काए, ‘अलिकति हाम्रा पनि निवेदन परेका छन् नि । सबैका पर्या निवेदन यस्तैगरी आउँदाखेरी गार्है पर्छ । अब म पनि सोच्दै छु, ल्याउँ कि क्या हो ।’