राष्ट्रियसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

मूलखबर संवाददाता
काठमाडौं, २७ साउन

सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्नुहुने कार्यसूची छ ।

यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश
सभासमक्ष टेबुल गर्नुहुनेछ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

सात संसदीय समितिको बैठक बस्दै

यस्तै, आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

बिहान ११ः०० बजे अर्थ समितिको बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका’ सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्न्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । सो समितिको बैठकमा ‘बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्ष’ माथि छलफल हुँदैछ ।

बिहान ११ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

अपराह्न १ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसम्बद्ध उजुरीमाथि छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ः०० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘विगतका कोप सम्मेलनमा भएको निर्णय÷सम्झौता र सोको कार्यान्वयनको अवस्था एवं कार्यान्वयन लागि नेपाल सरकारबाट भए गरेका कामकारबाहीका बारेमा’ छलफल हुनेछ ।

यस्तै, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१) मा सहभागिताका लागि नेपालको तयारीका बारेमा पनि सरकारका सम्बद्ध अधिकारीसँग जानकारी लिने कार्यक्रम छ ।