काेलम्बिया भुकम्पमा मृत्यु हुने ७७ नाघे, खाेज तथा उद्वार जारी
काेलम्बियाकाे शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या कम्तीमा ७७ नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको उत्तरपश्चिमी चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पअघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सडकमा निस्किएका भिडियोहरू सार्वजनिक भइरहेका छन् । भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो ।
शुक्रबार मात्रै पदभार सम्हालेका कोलोम्बियाका राष्ट्रपति अबेलार्दो दे लासप्रिएजा आपत्कालीन उद्धार तथा राहत कार्यको नेतृत्व गर्न राजधानी बोगोटा पुगेका छन् । बीबीसीका अनुसार उनी अहिले उपराष्ट्रपति, मन्त्रीहरू तथा सम्बन्धित क्षेत्रका उच्च अधिकारीहरूसँगै विपद् जोखिम व्यवस्थापनसम्बन्धी राष्ट्रिय एकाइ (यूएनजीआरडी) को राष्ट्रिय संकट कक्षमा छन् । यसअघि लासप्रिएजाले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रको सुरक्षा र सहयोगका लागि ‘आवश्यक सबै काम’ गर्ने बताएका थिए ।



