कोलम्बियामा ७.४ रेक्टरकाे शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु
कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति भएको छ।
भूकम्पको केन्द्रबिन्दु चोको (Chocó) क्षेत्रको सान होसे डेल पाल्मार आसपास रहेको बताइएको छ। भूकम्पका कारण विभिन्न शहरमा भवनहरू भत्किएका छन् भने केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरिएको छ। क्षतिको पूर्ण विवरण संकलन गर्ने तथा भग्नावशेषमा फसेकाहरूको खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
भूकम्पको धक्का छिमेकी मुलुक इक्वेडरसहित कोलम्बियाका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ।भूकम्पपछि थप पराकम्प आउन सक्ने भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।



