खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

मूलखबर संवाददाता
काठमाडौं, २२ साउन

प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मनसुनजन्य विपद्, स्वास्थ्य सेवा, सडक पूर्वाधार, खाना पकाउने ग्यासको आपूर्ति, सामाजिक सुरक्षा तथा कृषि क्षेत्रका विविध समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकमा सांसद इन्दिरा रानामगरले खाना पकाउने ग्यासको आपूर्ति यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद प्रेमलाल चौधरीले इलाम जिल्ला प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै जिल्लामा स्तरीय अस्पतालको अभाव रहेको बताउनुभयो । बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै उहाँले इलामको मयुखोलामा स्थायी पुल निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद टीका सङ्ग्रौलाले आर्यघाटमा विपन्न वर्गका नागरिकले अन्तिम संस्कार गर्नसमेत आर्थिक अभाव झेल्नुपरेको उल्लेख गर्दै शव दाहसंस्कारका लागि आवश्यक खर्च राज्यले निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद बदनकुमार भण्डारीले गत बुधबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुलीले क्यान्सरपीडित श्रीमती तिलकुमारी पराजुलीलाई पिँठ्युमा बोकेर सुनकोशी नदीमा हाम फालेको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँहरूको खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ तीव्र बनाउन सरकारसँग माग गर्नुभयो ।

सांसद शाहजान खातुनले मनसुनका समयमा तराई क्षेत्रमा बाढी र डुबानका कारण बर्सेनि धनजनको क्षति हुने गरेको उल्लेख गर्दै विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद धनबहादुर बुढाले डोल्पा र चीनबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन तथा यस वर्ष सञ्चालन हुनुपर्ने व्यापार मेलाका लागि चीन सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल तत्काल अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।