बैधानिकता अदालतसमक्ष पुनः पुष्टि गर्न तयार छाैं : गगन थापा

मूलखबर संवाददाता
काठमाडौं, २२ साउन

सर्वोच्च अदालतले गरेको पछिल्लो फैसला अनुरूप नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा सम्पन्न विशेष महाधिवेशन पार्टी विधानअनुसार भएको भन्दै त्यसको वैधानिकता अदालतसमक्ष पुनः पुष्टि गर्न आफूहरू तयार रहेको बताएका छन्।

शुक्रबार पार्टीनिकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै थापाले विशेष महाधिवेशन पार्टी विधानले दिएको अधिकारअनुसार सम्पन्न भएको दाबी गरे। उनले उक्त महाधिवेशनको वैधानिकता यसअघि नै महाधिवेशन, निर्वाचन आयोग तथा सर्वोच्च अदालतको इजलासबाट पुष्टि भइसकेको उल्लेख गर्दै अदालतले पुनः पुष्टि गर्न भनेको सन्दर्भलाई आफूहरूले अर्को अवसरका रूपमा लिएको बताए।

उनले भने, पार्टीको विधानमा भएको व्यवस्थाअनुसार सार्वभौम सदस्यहरूले आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन गरेका हुन्। विशेष महाधिवेशन आवश्यक पनि थियो र त्यसका लागि विधानले अधिकार पनि दिएको थियो। यसको वैधानिकता महाधिवेशनबाटै पुष्टि भइसकेको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतको इजलासले पनि त्यसलाई मान्यता दिइसकेको छ।

अब अदालतले फेरि पुष्टि गर्न भनेको सन्दर्भलाई हामी विशेष महाधिवेशनको वैधानिकता पुनः स्थापित गर्ने अवसरका रूपमा लिएका छौं। अदालतको प्रक्रियामा सम्मानपूर्वक सहभागी भएर आफ्नो पक्ष प्रस्तुत गर्नेछौं।