उपभोक्ता ग्याँस नपाएर हाहाकार, निगम भन्छ- भ्रम छरियाे, ग्याँस छ

मूलखबर संवाददाता
काठमाडौं, २० साउन

अहिले देशभर र विशेष गरेर काठमाडौं  उपत्यकामा खाना पकाउने एलपी ग्याँसकाे हाहाकार छ । उपभोक्ताहरू दिनभर लाइन बसेर पनि डिपाेहरूमा ग्याँस नपाएको भन्दै आक्राेस पाेखिरहेका छन् । तर नेपाल आयल निगमले भने पर्याप्त ग्याँस रहेकाे दावि गरेको छ ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा हल्ला भए अनुसार खाना पकाउने एलपी ग्यास अभाव नभएको दाबी गरे ।

बरालले ग्यास आयातमा कुनै कमी नभएको भन्दै अभावको सम्पूर्ण दोष उपभोक्ताको सञ्चय गर्ने प्रवृत्ति र वितरण प्रणालीमा थोपरे ।

‘विगतमा ७.१ किलोको आधा सिलिन्डर वितरण गर्दा उपभोक्ताले खासै रुचि नदेखाएर खाली सिलिन्डर घरमै होल्ड गरेर राखे,’ सांसदहरूसामु बरालले दाबी गर्दै भने, ‘तर, अहिले १४.२ किलोको भरी सिलिन्डर आउन थालेपछि घरमा भएका सबै खाली सिलिन्डर एकै पटक भर्न खोज्दा बजारमा कृत्रिम चाप बढ्यो ।’

उनले टेकुमै पनि एउटै मान्छे साइकलमा ३–४ पटक आएर ग्यास लिएर गएको देखिएको आरोप समेत लगाए । अझ उनले बजारमा ग्यासको चरम हाहाकार भएको हल्ला सत्य नभएको दाबी गर्दै लाइनमा बसेका सर्वसाधारणलाई ‘मिडिया कभरेज’ सँग जोडेर व्यंग्यसमेत गरेका थिए ।

टेकुस्थित निगमको कार्यालयबाट पछिल्लो ३ दिनमा जम्मा २ हजार १ सय सिलिन्डर मात्रै बिक्री भएको तथ्यांक समेत उनले पेस गरे । ‘बजारमा साह्रै समस्या भयो भन्ने हल्ला छ, तर ३ दिनमा २१ सय सिलिन्डर मात्र बिक्री हुनु भनेको धेरै संख्या होइन,’ उनले भने, ‘तर, अब लाइन लागेर बसिदिने मिडिया कभरेजका लागि यसले चाहिँ साँच्चै नै ठूलै समस्या भयो कि भन्ने लाग्न सक्छ ।’

प्रत्येक उपभोक्ताका लागि घरघरमा खाना पकाउने ग्यास उपलब्ध गराउन आपूर्ति शृङ्खलाको व्यवस्थापनको जिम्मेवारी लिएको आयल निगमका निमित्त कार्यकारी निर्देशकले सबै दोष उपभोक्ता र मिडियालाई थोपरेर पन्छिन खोजे पनि ग्राउन्ड जिरोको अवस्थाले निगमले नै आपूर्ति र वितरण शृङ्खला मिलाउन नसकेको प्रष्टै देखाउँछ ।

निगमले जतिसुकै ग्यास अभाव नभएको दाबी गरेको र मागभन्दा बढी परिमाणमा ग्यास आयात भएको भने पनि काठमाडौं खुसिँबु बस्ने भरत मगरको भान्सा १८–१९ दिनदेखि अस्तव्यस्त बनेको छ ।