अन्तरिक्ष यानकाे ठूलो टुक्रा चन्द्रमासँग ठाेक्कीँदा १७ मिटर ब्यासकाे खाल्डाे
पृथ्वीबाट चन्द्रमा तर्फ पठाइएको अन्तरिक्ष यानकाे ठूलो टुक्रा चन्रमासँग ठाेकिने भएको छ । बैज्ञानिकहरूले स्पेसएक्स फ्याल्कोन ९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमामा ठोक्किने बताएका छन् ।
अन्तरिक्षका वस्तुहरू ट्र्याक गर्ने सफ्टवेयर विकासकर्ता बिल ग्रेको विश्लेषण अनुसार यो टुक्रा पूर्वीय समय अनुसार बिहान करिब २:३५ बजे प्रतिघण्टा ५,००० माइलभन्दा बढीको गतिमा चन्द्रमामा ठोक्किने सम्भावना छ।
अन्तरिक्षमा प्रयोगविहीन बनेको यो भाग रकेटको माथिल्लो खण्ड हो र यो करिब पाँच तले भवन जत्रो ठुलो छ। यो सन् २०२५ को जनवरीमा दुईवटा लुनार ल्यान्डर र वैज्ञानिक उपकरणहरू लिएर चन्द्रमातर्फ गएको फ्याल्कोन ९ रकेटको अंश हो ।
बिल ग्रेका अनुसार रकेटको अवशेष आइन्स्टाइन क्रेटर नजिकै उत्तर-पश्चिम क्षेत्रमा पर्ने चन्द्रमाको उज्यालो भागमा ठोक्किनेछ। पृथ्वीबाट देखिने चन्द्रमाको सो भाग आंशिक रूपमा प्रकाशित हुनेछ। यस टक्करले चन्द्रमाको सतहमा कम्तीमा १७ मिटर व्यास भएको ठुलो खाल्डो बनाउन सक्ने अनुमान उनले गरेका छन्।
एसोसिएटेड प्रेसका अनुसार स्पेसएक्सले आफ्नो यो निष्कृय टुक्रालाई जानीजानी चन्द्रमामा ठोक्काउन खोजेको भने थिएन। यस विषयमा टिप्पणीका लागि एनपीआरले स्पेसएक्ससँग सम्पर्क गरे पनि कुनै प्रतिक्रिया प्राप्त भएको छैन।
नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका लुनार रेकोनेसेन्स आर्बिटरका परियोजना वैज्ञानिक ब्रेन्ट ग्यारीले चन्द्रमाको सतहमा हुने परिवर्तन बुझ्न आर्बिटरले टक्करअघि र पछि त्यस क्षेत्रको अवलोकन गर्ने बताए।
नासाको सोलार सिस्टम एक्सप्लोरेसन रिसर्च भर्चुअल इन्स्टिच्युटले आयोजना गरेको छलफलमा ग्यारीले भने, ‘टक्करपछि हामीलाई त्यो कहाँ खस्यो भन्ने अझ बढी जानकारी हुन सक्छ। घटनाको करिब एक सातापछि प्रभाव क्षेत्र कहाँ छ भन्ने निश्चित गरेर थप अनुसन्धान गर्न सकिन्छ।’
केही अनुसन्धानकर्ताहरूका अनुसार यो टक्कर पृथ्वीबाट सीधा नदेखिन सक्छ। टक्करपछि निस्कने धुलोको बादल समेत व्यावसायिक टेलिस्कोपहरूले समात्न गाह्रो हुन सक्ने अनुमान गरिएको छ।



