१६.५३ प्रतिशतले बढ्याे व्यापार घाटा, कति पुग्याे ?
नेपालकाे व्यापार घाटा गत वर्षभन्दा बढेको छ । नेपालले गत आर्थिक वर्ष ०८२/८३ मा २० खर्ब ९६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । यो वर्ष निर्यात केही बढे पनि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा बढेर १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात १६.२ प्रतिशतले बढेको हो । तर, गत आवमा निर्यात भने तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँबराबरको भएको छ ।
अघिल्लो आवको तुलनामा निर्यात पनि १३.८१ प्रतिशतले बढेको भए पनि आयातको वृद्धि अझ तीव्र भएकाले व्यापार असन्तुलन बढेको देखिएको हो । जसल गर्दा यो अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १६.६३ प्रतिशतले बढेको तथ्यांक छ ।
आयात र निर्यात दुवै जोड्दा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १५.८८ प्रतिशतले बढी हो । तथ्यांकले नेपालको व्यापार अझै पनि आयातमुखी रहेको देखाएको छ । गत आर्थिक वर्षमा हरेक एक रुपैयाँको निर्यात गर्दा नेपालले करिब ६ रुपैयाँ ६५ पैसाको वस्तु आयात गरेको छ । अघिल्लो वर्ष यो अनुपात ६.५१ गुणा थियो ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा घटेको छ । अघिल्लो आर्थिक वर्षमा कुल व्यापारको १३.३१ प्रतिशत हिस्सा निर्यातले ओगटेकोमा गत वर्ष यो १३.०७ प्रतिशतमा झरेको छ । आयातको हिस्सा ८६.६९ प्रतिशतबाट बढेर ८६.९३ प्रतिशत पुगेको छ ।
यसले निर्यातमा वृद्धि भए पनि आयातको निर्भरता घटाउन नेपाल अझै सफल हुन नसकेको र व्यापार घाटा नियन्त्रण सरकारका लागि चुनौतीकै रूपमा रहेको देखाएको छ ।



