कक्रोचद्वारा भारतमा देशव्यापी आन्दोलन घोषणा, शिक्षामन्त्रीको राजीनामा प्रमुख माग

मूलखबर संवाददाता
काठमाडौं, ८ साउन ।

भारतमा कक्रोच जनता पार्टी (सीजेपी) ले देशव्यापी आन्दोलन घोषणा गरेकाे छ । शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि लगातार नयाँ दिल्लीमा आन्दोलनको अगुवाई गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी) ले शुक्रबारका लागि देशव्यापी आन्दोलन घोषणा गरेको हाे ।

सीजेपीका प्रवक्ता आशुतोष रान्काले बिहीबार भने, ‘यस विरोध प्रदर्शनलाई राष्ट्रिय बनाऔँ । शुक्रबार देशको हरेक सहर र हरेक गाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुहोस् ।’

भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरुले यस आन्दोलनलाई समर्थन गरिरहेका छन् । यसअघि यस आन्दोलनको पक्षमा भारतको पटना, बैंगलुरु, केरललगायत शहरहरुमा प्रदर्शन भइसकेको छ ।

रान्काले देशका हरेक सहर र गाउँमा शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरे । यसअघि बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले योग्यता तथा प्रवेश परीक्षा (नीट) तथा विभिन्न परीक्षाका प्रश्नपत्र चुहावट प्रकरणमा संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट–ट्रयाक अदालत स्थापना गर्ने घोषणा गरेका थिए।

तर, जवाफदेहिताको सुरुवात शिक्षामन्त्री धमेन्द्र प्रधानको राजीनामाबाट हुनुपर्ने सीजेपीको माग छ। ‘हाम्रा युवाको कल्याण र भविष्यभन्दा महत्वपूर्ण अरू केही हुन सक्दैन,’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘विद्यार्थीहरूको हित संरक्षणका लागि सरकारले चाल्दै आएको कदमकै निरन्तरताका रूपमा यो निर्णय गरिएको हो।’

प्रश्नपत्र चुहावटमा संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट–ट्रयाक अदालत स्थापना गर्ने निर्णय गरिएको मोदीको दाबी छ । त्यस्तै, सम्बन्धित निकाय र अधिकारीहरूलाई आवश्यक सबै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताएका छन् ।

प्रधानमन्त्री मोदीको घोषणा आन्दोलनकारीको ध्यान भड्काउने उद्देश्यले आएको सीजेपीले जनाएको छ। ‘प्रश्नपत्र चुहावटको मूल समस्यालाई सम्बोधन गर्न यो घोषणाले सक्दैन। मूल समस्याबाट ध्यान मोड्ने गरी यो अभिव्यक्ति आएको हो,’ सीजेपीले जनाएको छ।