गोरखाको आरुघाट–माछिखोला सडकखण्डमा पहिरो खस्यो, सडक अवरुद्ध

दिपक श्रेष्ठ
गाेरखा, ५ साउन

गोरखाको आरुघाट–माछिखोला सडकखण्डमा पहिरो खस्यो
गोरखा ५ साउन / उत्तरी गोरखालाई जोड्ने प्रमुख यातायात मार्गको रूपमा रहेको आरुघाट–माछिखोला कच्ची सडकखण्डमा पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको छ। गोरखाको धार्चे गाउँपालिका वडा नं ७ स्थित लिदिङ भन्ने स्थानमा सडकमाथिबाट खसेको लेदो पहिरोका कारण सवारी आवागमन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मंंगलबार साँझ करिब ६ बजे सडक माथिबाट सुख्खा र गिलो माटोसहित ठूलो लेदो र ढुङ्गा खसेको हो । पहिरोले बाटो पूर्ण रूपमा ढाकेपछि सो सडकखण्ड भएर चल्ने सवारी साधन तथा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। घटनाको जानकारी प्राप्त हुनासाथ नजिकै रहेको प्रहरी चौकी आर्खेतबाट प्रहरी सहायक निरीक्षक मोहनबहादुर घिमिरेको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलतर्फ प्रस्थान गरेको थियो।

घटनास्थल प्रहरी चौकी आर्खेतबाट करिब ८ किलोमिटर उत्तरतर्फ पर्दछ। आरुघाटमाछिखोला सडकखण्ड उत्तरी गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दाका लागि खाद्यान्न तथा अत्यावश्यकीय सामग्री ओसारपसार गर्ने मुख्य मार्ग हो। सडक अवरुद्ध भएपछि मनास्लु पदमार्गमा जाने पर्यटक, स्थानीय सर्वसाधारणहरु पनि प्रभावित भएका छन्। पहिरो पन्छाएर बाटो पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।