विश्वकपकाे फाइनल : अर्जेन्टिना र स्पेन आमनेसामने हुँदै, कसले मार्ला बाजी ?
विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च सजिएको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आज हुने फिफा विश्वकप २०२६ को फाइनलमा साबिक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन्।
स्पेनले समूह ‘एच’मा साउदी अरेबिया र उरुग्वेलाई हराउँदै तथा केप भर्डसँग बराबरी खेल्दै सात अंकका साथ शीर्ष स्थान हासिल गरेको थियो।
नकआउट चरणमा स्पेनले अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले पराजित गर्यो। त्यसपछि अन्तिम १६ मा पोर्चुगललाई १–० ले हरायो।
क्वाटरफाइनलमा बेल्जियममाथि २–१ को जित निकालेको स्पेनले सेमिफाइनलमा उपाधिको दाबेदार फ्रान्सलाई २–० ले स्तब्ध पार्दै फाइनल यात्रा तय गर्यो।
अर्जेन्टिनाले भने समूह ‘जे’मा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई हराउँदै शीर्ष स्थान कब्जा गरेको थियो।
अन्तिम ३२ मा अतिरिक्त समयमा केप भर्डलाई ३–२ ले हराएको अर्जेन्टिनाले अन्तिम १६ मा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गर्यो।
क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराएको अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध अन्तिम समयमा पुनरागमन गर्दै २–१ को रोमाञ्चक जित निकालेको थियो।



