वर्षा, बाढी र पहिराेका कारण प्रमुख ६ राजमार्ग अवरुद्ध :

मूलखबर संवाददाता
काठमाडौं, २ साउन

अविरल वर्षापछि देशका विभिन्न भागमा बाढी र पहिरोका घटना बढ्दै जाँदा ६ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण सडक यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी–ढोरपाटन सडक तथा अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खस्दा ती सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–८, बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द भएको छ।

यसैबिच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।