नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
“नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारका पक्षमा उहाँले पुर्याउनुभएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ”, उहाँले भन्नुभएको छ ।
संयोजक दाहालले शोकसन्तप्त परिवारजन, आफन्त तथा उहाँप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
डा पाण्डेको शुक्रबार साँझ काठमाडौँको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो । उहाँलाई शुक्रबार नै पाटन अस्पतालबाट निवास ल्याइएको थियो ।
नागरिक अधिकारका लागि सम्झौताहिन आन्दोलन गरेर नेपालमा प्रजातन्त्र पुनर्बहालमिा अथक भूमिका निर्वाह गरेका डा. देवेन्द्रराज पाण्डे २०४७ सालमा डेढ बर्षसम्म अर्थमन्त्री बनेर देशको अर्थतन्त्रका नीति निर्माणमा समेत काम गरेका व्यक्ति हुन् ।
क्यान्सरसँग जुधिरहेका पाण्डेको शुक्रबार साँझ ७ बजेर ४० मिनेट जाँदा काठमाडौंको विशालनगरस्थित निवासमा पाण्डेको निधन भएको थियाे ।
चिकित्सक अनुप सुवेदीका अनुसार परिवारको साथमा रहेका बेला पाण्डे बितेका हुन् । क्यान्सरबाट थलिएका पाण्डेलाई बिहिबार मात्रै ह्याम्स अस्पतालमा र पाटन अस्पतालमा लगेर उपचार गरिएको थियो । तीन महिना अघि देखि रोगले च्याप्दै लगेपछि उपचार नगराई स्वच्छाले नै घरैमा बसेका थिए । हिजो गरिएको परिक्षणको क्रममा चिकित्सकहरुले अन्तिम अवस्थामा पुगेको जानकारी दिएपछि घरैमा प्राण त्याग गर्ने पाण्डेको इच्छा अनुसार बिशालनगरस्थित घरैमा लगिएको बताइएको छ ।
पञ्चायत विरोधी आन्दोलन सफल भएपछि २०४६ मा प्रजातन्त्र स्थापनापछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा २०४७ देखि २०४८ पाण्डे अर्थमन्त्री थिए ।
पाण्डेले अर्थमन्त्रीबाट बाहिरिएपछि देशमा सुशासन, लोकतन्त्र, विकास, भ्रष्टाचारको अन्त्य, र उत्तरदायी राज्य व्यवस्थाबाट मात्रै नागरिक अधिकार रक्षा हुने भन्दै चट्टान झै अडिग भई आन्दोलनमा सक्रिय भएर काम गरेका थिए ।
२० अगस्ट १९३९ मा काठमाडौंमा जन्मिएका पाण्डेले त्रिचन्द्र कलेजमा उच्च शिक्षा हासिल गरेका थिए । त्यसपछि भारतको इलाहाबाद विश्वविद्यालयबाट स्नातकोत्तर तथा अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक तथा अन्तर्राष्ट्रिय मामिलामा पीएचडी गरेका थिए ।
पाण्डे पूर्व सचिव पनि हुन् । सन् १९७८ देखि १९८० सम्म अर्थ सचिव भएर काम गरेका थिए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग विवाद भएपछि राजीनामा दिएका थिए । पाण्डे लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन (सिटिजन्स मुभमेन्ट फर डेमोक्रेसी एन्ड पिस)का नेतामध्ये थिए ।



