भत्किन सुरु भयाे कांग्रेस एमाले गठबन्धन, धरापमा सातै प्रदेश सरकार
एमाले अध्यक्ष केपी ओली र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले सातबुँदे सहमति गरेर दुई वर्षदेखि प्रदेश सरकारहरूमा गर्दै आएको सहकार्य सुदूरपश्चिम र कर्णालीबाट भत्किन सुरु भएको छ । बुधबार बिहानै कर्णाली सरकारका कांग्रेस मन्त्रीहरूले एमालेबाट मुख्यमन्त्री रहेका यामलाल कँडेललाई राजीनामा बुझाएकामा सुदूरपश्चिममा कांग्रेसबाट मुख्यमन्त्री रहेका कमलबहादुर शाहले एमालेका मन्त्री बर्खास्त गरेका हुन् ।
गठबन्ध भत्काउन सुरु भएसँगै दुवै दलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्यका लागि समानान्तर रूपमा छलफल पनि थालिसकेकाले सातै प्रदेशमा नयाँ समीकरण बन्ने देखिएको छ । कांग्रेस र एमालेको सहकार्य भत्किँदा नयाँ समीकरणका लागि नेकपा निर्णायक छ ।
संघदेखि प्रदेश सरकारसम्म आलोपालो सत्तासमीकरण चलाउने गरी ओली र देउवाले १७ असार ०८१ मा सातबुँदे सहमति गरेका थिए । दुई दलबिच २० महिनामा केन्द्रमा आलोपालो सरकारको नेतृत्व फेर्ने र प्रदेशहरूमा पनि त्यसअनुसार नै सहकार्य गर्ने समझदारी भएको थियो । तर, संघमा ओलीको नेतृत्वमा बनेको सरकारलाई गत वर्ष भदौमै जेन–जी आन्दोलनले विस्थापन गरेको थियो । प्रदेशमा भने दुई दलकै सहकार्य चलिरहेकोमा पुरानो सहमतिअनुसार हाल नेतृत्व फेरबदल गर्नुपर्ने समय आएपछि तिक्तता बढेको हो ।
कर्णाली र सुदूरपश्चिम सरकारमा बुधबार विकसित घटनाक्रमले अब सबै प्रदेशका सरकार धरापमा परेका छन् । सुदूरपश्चिममा आफ्ना मन्त्रीहरू बर्खास्तीमा परेसँगै एमालेले पनि संसदीय दलको बैठक राखेर कांग्रेस नेतृत्वबाट बाहिरिने निर्णय लिइसकेको छ ।
दुवै दलले सहकार्य तोडिएको घटनामा एक–अर्कालाई आरोप लगाउँदै नेकपासँग सम्भावित सत्तासहकार्यको प्रयास गर्दा नेकपाका नेताहरू पनि सक्रिय भएका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता वर्षमान पुनसहितका नेताहरूले कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष ओलीसँग अलग–अलग छलफल चलाएका छन् । सम्भावित सहकार्यबारे थापासँग संवाद गरेर प्रचण्ड बुधबार श्रीलंका गएका छन् भने पुनले एमाले अध्यक्ष ओलीसँग बुधबार बिहान अलग्गै संवाद गरेका खबर नयाँ पत्रिकामा छ ।



