गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चित

मूलखबर संवाददाता
पाेखरा, ३० असार

गण्डकी प्रदेशका ११ वटै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रुपमा दर्ज भएका छन् । पछिल्लो पटक यही असार २५ गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ ।

केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो । जन्मदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाइ छ ।

पहिलो पटक २०७५ सालमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेपछि बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको हो ।

जन्मदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको खोप अधिकृत लम्सालले बताउनुभयो ।

कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुनु नपरोस् भनेर हरेक वर्ष वैशाख महिनालाई खोप महिना घोषणा गरी ‘खोज र खोप’ अभियान सञ्चालन गर्ने गरिएको छ ।

खोप कार्यक्रमलाई तीनै तहका सरकारले प्राथमिकता दिँदै आएका छन् । मातृ तथा नवशिशु मृत्युदर घटाउन पूर्ण खोप अभियानले सहयोग पुर्याइरहेको खोप अधिकृत लम्सालको भनाइ छ । प्रदेशका झण्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।