नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणका दोषी र आरोपितको सम्पत्ति छानबिन शुरू

मूलखबर संवाददाता
काठमाडौं, २५ असार ।

मंगलबार फैसला भएको नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणका दोषी र आरोपितको सम्पत्ति छानबिन पनि अघि बढेको छ । उनीहरूविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढेको हो । बहुचर्चित यो घटनामा मुछिएका सरकारी अधिकारीलाई भ्रष्टाचार मुद्दामा पनि अख्तियारले छानबिन अघि बढाएको थियो । त्यस्तै, करोडौँ रकम संगठित रूपमा ठगी गरेको मुद्दा भएकाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन थालेको छ ।

३१ प्रतिवादी रहेको यस मुद्दामा मंगलबार जिल्ला अदालत, काठमाडौंले फैसला सुनाउँदै दुई पूर्वमन्त्रीसहित १६ जनालाई दोषी ठहर गरेको थियो । टोपबहादुर रायमाझी, टेकनारायाण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा र बेचन झा मुख्य प्रतिवादीका रूपमा र बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेल मतियारका रूपमा दोषी ठहर भएका खबर नयाँ पत्रिकामा छ  ।