सुकुमबासीहरूलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम

मूलखबर संवाददाता
काठमाडौं, ९ असार

सरकारले विस्थापित सुकुमबासीहरूलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एक सूचना जारी गर्दै ५ दिनभित्र शिविर खाली गर्न अल्टिमेटम दिएको हो ।

आयोजना प्रमुखद्वारा जारी सूचनामा विस्थापितहरूलाई सरकारले राहत रकम २५ हजार दिने निर्णय गरेकाले सोहीअनुसार होल्डिङ सेन्टर छाड्न निर्देशन दिइएको हो । सूचनामा उल्लेख भएअनुसार घर भाडाका लागि ३ महिनाका निम्ति तोकिएको रकम मासिक रूपमा किस्तावन्दीमा बैंक खातामा उपलब्ध गराइनेछ ।

होल्डिङ सेन्टरहरूमा बसिरहेका विस्थापित सुकुमबासीहरू भने यो सूचना पाएपछि त्रसित बनेका छन् । नगरकोटस्थित होल्डिङ सेन्टरमा बसिरहेका ईन्द्रबहादुर थापाका अनुसार मंगलबार त्यहाँ सरकारी कर्मचारीहरूले राहत रकमका लागि निवेदन दिन र शिविर छाड्नका लागि दबाबस्वरुप फर्म भराइएका थिए । ‘फर्म भर्ने बेलामा विवाद पनि भयो । प्रशासनबाट मान्छेहरू आउनुभएको थियो । उहाँहरूले १२ असारभित्र आफ्नो व्यवस्था गरिसक्नुपर्ने बताउनु भयो,’ थापाले भने, ‘तर ३ महिनापछि हाम्रो बिचल्ली होला कि भन्ने डर छ ।’