४० दिनमै आयाे कक्षा १२ काे नतिजा, छात्रा बढी उत्तीर्ण

मूलखबर संवाददाता
काठमाडौं, ६ असार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा सकिएको ४० दिनमै कक्षा १२ को नतिजा सार्वजनिक गरेको हाे । पहिलेभन्दा छिटो सार्वजनिक गरिएको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन् ।

बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा १२ को परीक्षामा नियमित र आंशिकतर्फ गरी समग्रमा ६४.१३ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) भएका छन् ।

नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका हुन् । गत वर्ष ६१.१७ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए । २०८० को कक्षा १२ को परीक्षामा ५२.१५ प्रतिशत विद्यार्थी मात्र ‘ग्रेडेड’ भएका थिए ।

परीक्षार्थीमा छात्र धेरै, उत्तीर्णदर छात्राको बढी, ७०.३९ प्रतिशत छात्रा उत्तीर्ण हुँदा छात्रको उत्तीर्णदर ६९.१७ प्रतिशत
एसईईको नतिजामा पनि पछिल्लो वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ । शिक्षण सिकाइ प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाइ छ ।

यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये २ लाख ३१ हजार ७ सय ७० जनाले ग्रेड प्राप्त गरेका छन् । १ लाख ४ सय ७१ विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन् । उनीहरूका लागि २ र ३ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

नियमिततर्फका विद्यार्थी मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ‘सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी (ननग्रेडेड) प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पूरक (मौका) परीक्षामा सहभागी हुन पाउनेछन्,’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।