‘विनियोजन विधेयक’ बहुमतले पारित, खर्च कटौतीका प्रस्तावहरू अस्वीकृत

मूलखबर संवाददाता
काठमाडौं, ५ असार

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ बहुमतले पारित भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनबाट स्वीकृत भएको हो।

विधेयकमाथिको निर्णयअघि सभामुख डोलप्रसाद अर्यालले दफा २ देखि ११ सम्मलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। साथै, विभिन्न मन्त्रालयगत विनियोजन शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू भने बहुमतले अस्वीकृत भएका छन्।

अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गरेका थिए।

सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ। बजेट अन्तर्गतकै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि भने छलफल हुन बाँकी छ।