पाँच वर्षमुनिका २ लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले जेठ महिनामा ७७ वटै जिल्लाका ५ वर्षमुनिका १० लाख ६८ हजारभन्दा बढी बालबालिकामा गरेको अध्ययनले नेपालमा ५ वर्षमुनिका २ लाखभन्दा बढी बालबालिका शिवमजस्तै गम्भीर कुपोषणबाट पीडित भएको देखाएको छ ।
राष्ट्रिय पोषण आकलनको प्रारम्भिक प्रतिवेदनअनुसार ६ महिनादेखि ५९ महिनासम्मका ९ प्रतिशत बालबालिकामा दुब्लोपन देखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ को प्रतिवेदनअनुसार सन् २०२१ मा ८ प्रतिशत बालबालिकामा यस्तो समस्या थियो । यो अध्ययनले २६ प्रतिशत बालबालिकाहरू कम उचाइको रहेको समेत देखाएको छ । यसअघि सन् २०२२ को एनडीएचएस प्रतिवेदनले देशभर ५ वर्षमुनिका २५ प्रतिशत बालबालिकाको उचाइ उनीहरूको उमेरभन्दा कम रहेको देखाएको थियो ।
परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले भने, ‘सबै ७७३ स्थानीय तहमा मूल्यांकन गर्दा सन् २०२२ को एनडीएचएस प्रतिवेदनको दाँजोमा पोषणको अवस्था थप खराब रहेको देखिन्छ ।’ दुब्लोपनलाई पोषणको जटिल अवस्था मानिन्छ । यसका लागि आपतकालीन स्वास्थ उपचार जरुरी पर्नसक्छ । स्वस्थ बालबालिकाको दाँजोमा जटिल कुपोषणबाट ग्रस्त बालबालिकाको मृत्यु हुने जोखिम १० प्रतिशत धेरै रहने विज्ञहरू बताउँछन् । दुब्लोपनको समस्या १० प्रतिशतभन्दा धेरैमा देखिएपछि बाल मृत्युदर तीव्र बढ्न सक्ने चेतावनी उनीहरूले दिएका छन् ।
बालबालिकाले पर्याप्त पोषिलो खाना नपाउँदा र संक्रमणको शिकार हुँदा कुपोषणको समस्या देखिन्छ । खाना पाएकाहरूमा पनि आवश्यक प्रोटिन र पोषणको कमी छ । पोषणविद् डा. अतुल उपाध्यायका अनुसार २ लाखभन्दा बढी बालबालिकामा दुब्लोपन देखिनु अत्यन्तै खतरनाक अवस्था हो । झाडापखाला जस्ता सामान्य रोगबाट पनि यस्ता बालबालिकाको मृत्यु हुन सक्छ ।



