कता पुग्याे नेकपाकाे समायाेजन प्रक्रिया, हाेला त मंसिरमा महाधिवेशन ?
निर्वाचन अघि विभिन्न दल र समूह गरि १६ दल एकता गरी बनेकाे नेपाली कम्युनिस्ट पार्टी आन्तरिक समायाेजन प्रक्रिया टुंग्याउन लागिरहेकाे छ । आगामी मंसिर ११ मा काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने घाेषणा गरेको नेकपाले ताेकिएकाे समयमै महाधिवेशन सम्पन्न गर्ला कि नगर्ला भन्ने प्रश्न उठेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संगठन समायोजनमै अल्झिएको छ । पार्टीका तल्लो तह र जनसंगठनको समायोजन जेठ मसान्तसम्म सम्पन्न गर्ने निर्णय भए पनि कार्यान्वयनमा समस्या देखिएको छ । केही जनसंगठनबाहेक अधिकांश समायोजन प्रक्रियामै छन् ।
जिम्मेवारी बाँडफाँट तथा नेतृत्व चयनका विषयमा देखिएको असहमति र ढिलासुस्तीले समायोजन प्रक्रिया अधुरै रहेको नेताहरू स्विकार्छन् । मुख्य गरी संयोजक चयनमा जनसंगठनमा विवाद देखिन्छ । सबै संगठनको नजर संयोजकमा रहेकाले मिलाउन समस्या भइरहेको नेताहरू बताउँछन् ।
साबिक माओवादी, एकीकृत समाजवादीसहित विभिन्न २७ पार्टी–समूह मिलेर नेकपा बनेको हो । गत १९ कात्तिकमा एकता घोषणा हुँदा १० घटक आबद्ध थिए । त्यसपछि विभिन्न समूह थपिँदै २७ पुगेको छ । तर, संगठनात्मक समायोजन नहुँदा नेता तथा कार्यकर्ता कामविहीन भएका छन् ।
नेकपाले आगामी मंसिर दोस्रो साता एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसअघि सबै जिल्ला र पालिकामा कमिटीका साथै जनसंगठनहरूमा पनि समायोजन गर्नुपर्नेछ । मुख्यतः साबिक माओवादीबाट इन्चार्ज भए साबिक समाजवादीबाट संयोजक बनाउने गरी गृहकार्य भइरहेको छ । साबिक समाजवादीबाट इन्चार्ज बने साबिक माओवादीबाट संयोजक बन्नेछन् ।
जनसंगठनमा अखिल नेपाल महिला संगठन, जनसांस्कृतिक महासंघ र नेपाल दलित मोर्चाको मात्र समायोजन सम्पन्न भएको छ । महिला संगठनको संयोजक दामा शर्मा तथा सहसंयोजकमा मुनु सिग्देल, कमला विक र सावित्री पोखरेल चयन भएका छन् ।
जनसांस्कृतिकको संयोजकमा भीम कुमाखी र सहसंयोजकमा अष्ट लामा तथा दलित मोर्चाको संयोजकमा दलजित श्रीपाली र सहसंयोजकमा रामअवतार पासवान चयन भएका छन् । अन्य संगठनको पनि एकता प्रक्रिया जारी रहेको नेकपाले जनाएको छ ।
नेकपाले ३२ जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोकेर समायोजन प्रक्रिया टुंग्याउने जिम्मेवारी दिएको छ । अखिल नेपाल महिला संगठनको इन्चार्जमा जयन्ती राई र सहइन्चार्ज कमला रोका, अखिल नेपाल किसान महासंघको इन्चार्जमा बलदेव चौधरी र सहइन्चार्जमा कुमार पौडेल छन् ।
प्रेस संगठनको इन्चार्ज प्रकाश ज्वाला तथा सहइन्चार्ज शम्भु श्रेष्ठ र विष्णु सापकोटा, विद्यार्थी संगठनको इन्चार्ज रत्न ढकाल र सहइन्चार्ज सुदेश पराजुली, शिक्षक संगठनको इन्चार्ज माधव सापकोटा र सहइन्चार्ज केदार सञ्जेल, युवा संगठनको इन्चार्ज लक्ष्मण केसी र सहइन्चार्ज सुमन देवकोटा तथा ज्ञानबहादुर गुरुङ छन् ।
सहिद, बेपत्ता तथा घाइते योद्धा संगठनको इन्चार्ज हितराज पाण्डे तथा सहइन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे, आदिवासी जनजाति महासंघको इन्चार्जमा सुरेश आलेमगर र सहइन्चार्ज पासाङ शेर्पा छन् । इन्जिनियर्स एसोसिएसनको इन्चार्ज लेखनाथ न्यौपाने र सहइन्चार्ज कपिल आचार्य, उद्योग तथा व्यवसायी महासंघको इन्चार्ज विरोध खतिवडा र सहइन्चार्ज कृष्ण आचार्य, कानुन व्यवसायी संगठनको इन्चार्जमा पूर्णबहादुर घर्ती र सहइन्चार्ज रामकुमार ज्ञवाली छन् ।
खेलकुद महासंघको इन्चार्ज केशव विष्ट र सहइन्चार्ज शिव कोइराला, जनसांस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुन तथा सहइन्चार्ज इधरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ, ट्रेड युनियन महासंघको इन्चार्ज रामदीप आचार्य र सहइन्चार्ज विष्णु लम्साल, दलित संगठनको इन्चार्ज गणेश विक र सहइन्चार्ज दलजित श्रीपाली, नेपाल रिटर्नी एसोसिएसनको इन्चार्ज देवेन्द्र पराजुली र सहइन्चार्ज भवानी खड्का छन् ।
पर्यटन फाँटको इन्चार्ज पुष्पविक्रम मल्ल र सहइन्चार्ज अञ्जन थापा, पेसागत महासंघको इन्चार्ज कृष्णध्वज खड्का र सहइन्चार्ज प्रेमलकुमार खनाल, पूर्वसुरक्षाकर्मी संगठनको इन्चार्ज सन्तु दराई, प्राध्यापक फाँटको इन्चार्ज दीनानाथ शर्मा र सहइन्चार्ज प्राडा इन्दु आचार्य, मधेशी संगठनको इन्चार्ज जोगकुमार बरबरिया र सहइन्चार्ज रामचन्द्र साह तेली, मुस्लिम संगठनको इन्चार्ज महेश्वर गहतराज र सहइन्चार्ज हकिकुल्ला खाँ तथा ताज मोहम्मद मियाँ छन् । वैदेशिक रोजगार व्यवसायी संगठनको इन्चार्ज नागेन्द्र चौधरी र सहइन्चार्ज समिता कार्की छन् ।
सहकारी संगठनको इन्चार्ज लीलामणि पौडेल, सहइन्चार्ज शरद रसाइली र उदया शर्मा, स्वास्थ्यकर्मी संगठनको इन्चार्ज अञ्जना विशंखे र सहइन्चार्ज भक्तिमान सुब्बा, सुकुमवासी महासंघको इन्चार्ज नहेन्द्र खड्का र सहइन्चार्ज केशव दाहाल छन् ।
निर्माण व्यवसायी संगठनको इन्चार्ज कमला रोका, उपभोक्ता हित सम्बद्ध संगठनको इन्चार्ज बिपी खनाल, मानव अधिकार संगठनको इन्चार्ज लेखनाथ दाहाल, विपत्सम्बन्धी संगठनको इन्चार्ज डा. लक्ष्मी ओली तथा सहिद प्रतिष्ठानको इन्चार्ज धर्मशिला चापागाईं र सहइन्चार्ज रामबहादुर भण्डारी, आइटी फोरमको इन्चार्ज केशव नेपाल छन् ।
असार र साउनमा पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गर्ने नेकपाको निर्णय छ । १५ भदौसम्म वडा तह, १६ भदौदेखि भदौ मसान्तसम्म पालिका तहका र असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । १५ कात्तिकसम्म प्रदेश अधिवेशन र ११–१५ मंसिरमा एकता राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय नेकपाको छ ।
पार्टीका सबै तहका अधिवेशन तथा महाधिवेशनसम्बन्धी दस्ताबेज, प्रतिवेदन तथा कार्यविधिको तयारी केन्द्रीय समिति बैठकले गर्ने तयारी छ ।




