गण्डकी अस्पतालमा पनि सुरु भयो निजामती स्वास्थ्य सेवा
निजामती कर्मचारीले अब प्रदेशस्तरबाटै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ) को स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीतिअनुसार प्रदेश अस्पतालबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।
मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालसँग सम्झौता सुरु भएको छ ।
यसैक्रममा आज गण्डकी अस्पताल, पोखरासँग सम्झौता भएको छ । सम्झौतासँगै गण्डकी प्रदेशका निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी तथा आश्रित परिवारले निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा पाउने भएका छन् । सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा हुनुपर्नेछ ।
मधेस प्रदेशका लागि नारायणी अस्पताल, वीरगञ्ज (पर्सा) र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनसँग यसअघि सम्झौता भइसकेको छ । उक्त दुवै अस्पतालबाट आजदेखि निजामती कर्मचारी स्वास्थ्य सेवा सञ्चालनमा आइसकेको मन्त्रालयले जनाएको छ ।
मधेस, बागमती र गण्डकी प्रदेशपछि अन्य प्रदेशमा सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरी सेवा प्रदायक अस्पतालहरूको सूचीकरण भइसकेको छ । आवश्यक तयारी पूरा भएपछि सबै प्रदेशबाट निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट, सहुलियतसहितको स्वास्थ्य उपचार सेवा प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
यसैबीच, काठमाडौँ उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी र आश्रित परिवारको सहजताका लागि प्रदेशमा स्वास्थ्य सेवा पु¥याउन लागिएको सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बताउनुभयो ।




