राजदूत नियुक्तिका लागि करिब ३ हजार आवेदन
नेपालको इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानप्रति अत्यधिक आकर्षण देखिएको छ । शुक्रबार (आवेदन दिने अन्तिम दिन) सम्म १३ राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि करिब ३ हजार आवेदन परेको छ ।
सरकारले गत १४ जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनोट प्रक्रियासम्बन्धी सात पृष्ठ लामो कार्यविधिसहितको सूचना प्रकाशित गरेको थियो । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विभिन्न क्षेत्रका उम्मेदवारबाट आवेदन प्राप्त भएको छ । ‘हामीले अत्यधिक मात्रामा उत्साहजनक प्रतिक्रिया र आवेदनहरू प्राप्त गरेका छौं,’ मन्त्रालयका ती अधिकारीले भने, ‘पटक–पटक सिफारिस पठाएका कारण केही आवेदन दोहोरिएका छन् । आगामी सोमबारसम्म दोहोरिएका आवेदन हटाएर यकिन तथ्यांक सार्वजनिक गर्ने सम्भावना छ ।’
सर्भरको समस्या र प्राविधिक गडबडीका कारण कतिपयले एकभन्दा बढी पटक आवेदन बुझाएका छन् भने कतिपयले मन्त्रालयको आधिकारिक ठेगाना, इमेल र हुलाकमार्फत व्यक्तिगत विवरण (बायोडाटा) पठाएका छन् । यो प्रक्रियालाई हेरिरहेका अर्का एक अधिकारीले अर्को सातादेखि मन्त्रालयले दोहोरिएका आवेदनहरू हटाउने र उम्मेदवारहरूको प्रारम्भिक छनोट सुरु गर्ने बताए ।
आवेदकहरू को–को छन् भन्ने स्पष्ट भइसकेको छैन । तर, अधिकारीहरूका अनुसार बहालवाला कर्मचारी, अवकाश प्राप्त सुरक्षा अधिकारी, पूर्वकर्मचारी, विश्वविद्यालय तथा कलेजका प्राध्यापक/शिक्षक, पत्रकार, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत व्यक्तिहरू र अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति तथा अर्थशास्त्र जस्ता विषयमा उच्च शिक्षा पूरा गरेका पेसाकर्मीहरूले आवेदन दिएका छन् ।




