होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गर्न निर्देशन
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
समिति सभापति हरि ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेख छ ।
निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरुलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पायक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ । समितिले होल्डिङ सेन्टरमा रहेका वास्तविक सुकुम्बासीको पहिचान एवं उचित व्यवस्थापन गरी समितिलाई सात दिनभित्र जानकारी गराउन भनेको छ ।
विपद्सम्बन्धी जोखिम न्यूनीकरणका पूर्वतयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ । विपद्का बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बिमा गर्न पनि समितिले सरोकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ ।



