काभ्रेको महाभारत गाउँपालिका बन्याे तेस्रोपटक पनि शून्य बेरूजु हुने स्थानिय तह

मूलखबर संवाददाता
काठमाडौं, ५ जेठ

काभ्रे जिल्लाकाे विकट क्षेत्र भनेर चिनिने महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष बेरुजु शून्य स्थानीय तह बन्न सफल भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा पनि महाभारत गाउँपालिकामा शुन्य बेरुजु रहेको छ ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा महभारत गाउँपालिकामा १ अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरिक्षण गरिएको थियो । त्यसमा एक रुपैयाँ पनि बेरुजु नदेखिएको हो । त्यसअघिका दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकामा बेरुजु शून्य रहेको थियो ।

पालिकाले यस्तो सफलता प्राप्त गर्नमा पालिका अध्यक्ष कान्छालाल जिम्बाकाे नेतृत्वदायी भुमिका छ । अध्यक्ष जिम्बाको कडा प्रशासनिक निगरानी र वित्तीय अनुशासनका कारण महाभारत गाउँपालिकाले लगातार तेस्रो पटक पनि ‘शून्य बेरुजु’ कायम राख्दै कीर्तिमान रचेको हो।

त्यसैगरी काभ्रे जिल्लाकै मण्डनदेउपुर नगरपालिकामा एक अर्ब ९७ करोड २० लाख ३७ हजार रुपैयाँको लेखापरिक्षण भएकोमा शुन्य दशमलव शून्य पाँच प्रतिशत अर्थात् १० लाख ४९ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको छ भने पाँचखाल नगरपालिकामा शून्य दशमलव १ प्रतिशत बेरुजु देखिएको छ । पाँचखालमा एक अर्ब ८६ करोड ७६ लाख २३ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १८ लाख ३२ हजार मात्रै बेरुजु देखिएको छ ।