धनुषामा ४८३ परिवारलाई लालपूर्जा वितरण

मूलखबर संवाददाता
धनुषा, ३ जेठ

विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ । मिथिला नगरपालिका-६, ७, ८ र ९ का (भूमिहीन) सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको हो ।

गाउँब्लकका जमिन लालपूर्जाबिना भोग गर्दै आएका सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको जिल्लास्थित नापी कार्यालय दुई नम्बर टोली ढल्केवरले जनाएको छ । टोलीका प्रमुख सीयाराम साहले आवश्यक कागजातसहित नापनक्साको प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार सो टोलीको कार्यालयमा ६५८ जनाले लालपूर्जाका लागि निवेदन दिएको र्थि ।

यसअघि सो टोलीले उक्त पालिकाको वडा नंं १, ६ र ७ का ६४ (भूमिहीन) सुकुमवासी परिवारलाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी लालपूर्जा वितरण गरेको थियो । नापी कार्यालय धनुषाको दुई नं टोलीद्वारा गाउँब्लकको जग्गा नापजाँच गरेर लालपूर्जा वितरण प्रक्रिया सुरु गरेको थियो । त्यसको आधारमा लालपूर्जा वितरण गरिएको प्रमुख साहले जानकारी दिनुभयो ।

साहका अनुसार आज यहाँ आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोलगायत पदाधिकारीले सम्बन्धित जग्गाधनीलाई सो जग्गाधनी लालपूर्जा वितरण गरेको हो