हान्टाभाइरस प्रभावित जहाज स्पेन पुग्दै, नआत्तिन राष्ट्र संघकाे आग्रह
स्पेनको क्यानरी टापुतर्फ गइरहेको ‘हान्टाभाइरस’ प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गरेका छन् ।
उनले वर्तमान अवस्था ‘अर्को कोरोना महामारीजस्तो नभएको’ स्पष्ट पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताएका छन्।
नेदरल्यान्ड्सको झण्डा बोकेको ‘एमभी होन्डियस’ नामक पानीजहाजमा १४० भन्दा बढी यात्रु तथा चालकदलका सदस्य रहेका छन् । उक्त जहाज पश्चिम अफ्रिकाको तट नजिक रहेको स्पेनको क्यानरी टापु समूहअन्तर्गत टेनेरिफे टापुमा आइतबार बिहान पुग्ने अपेक्षा गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस, स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सिया तथा गृहमन्त्री फर्नान्डो ग्रान्दे–मार्लास्का शनिबार टेनेरिफे पुगेर यात्रु तथा चालकदललाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाल्ने कार्यको समन्वय गर्ने तयारीमा रहेका छन् ।





