लिपुलेकबारे नेपाल सरकारले पठाएको ‘कूटनीतिक नोट’मा भारतले यस्ताे दियाे जवाफ
लिपुलेकबारे नेपाल सरकारले पठाएको ‘कूटनीतिक नोट’मा भारतले प्रतिक्रिया जनाएको छ । लिपुलेक हुँदै सुरु गर्न लागिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले ‘कूटनीतिक नोट’ पठाएपछि भारतकाे प्रतिक्रिया अाएकाे हाे ।
परराष्ट्र मन्त्रालयले भारत र चीनबीचको समन्वय र सहमतिमा नेपाली भूमि लिपुलेक हुँदै एकतर्फी रूपमा सुरु गर्न लागिएको मानसरोवर यात्राका सम्बन्धमा आइतबार भारत र चीनलाई कूटनीतिक नोट पठाउँदै ध्यानाकर्षण गराएको थियो ।
त्यसैको प्रतिक्रियास्वरूप भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताउँदै लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि निरन्तर प्रयोग हुँदै आएको मार्ग भएको बताएका हुन् ।
‘यो कुनै नयाँ कुरा होइन, भारतले एकतर्फी रूपमा गरिने दाबीहरू न्यायोचित नभएको र एतिहासिक तथ्य एवं प्रमाणमा आधारित नभएका कुरा निरन्तर राख्दै आएको छ,’ उनले भनेका छन्, ‘यस्ता एकतर्फी दाबीहरू भारतलाई मान्य छैनन् ।’






