५ सय बालबालिका पढ्ने तीन सामुदायिक विद्यालय भत्काइयो
सरकारले काठमाडौं उपत्यकाको सुकुमवासी बस्ती हटाउने क्रममा ५ सयभन्दा धेरै बालबालिका अध्ययरत सार्वजनिक जग्गामा रहेका तीन सामुदायिक विद्यालयका भवन पनि भत्काएको छ । भक्तपुरको मध्यपुर थिमिस्थित मनोहराको सरस्वती आधारभूत विद्यालय, काठमाडौंको बालाजुस्थित बुद्धज्योति उद्यान आधारभूत र बालकल्याण आधारभूत विद्यालयको कक्षाकोठा डोजर लगाएर हटाइएको छ ।
यी विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुँदै आएका थियो । सरस्वतीमा २ सय ७५, बुद्धज्योति र बालकल्याणमा समान १२० जना विद्यार्थी अध्ययरत थिए । भर्ना र पठनपाठन थाल्ने बेला विद्यालय भवन भत्काएपछि अन्योलमा परेको यी विद्यालयका प्रधानाध्यापकहरूले जनाए । महानगरपालिका र नगरपालिकाले भने यी विद्यालय मर्ज गरिने बताएका छन् ।
विद्यालय भवन भत्केपछि पनि १ सय ५० जना बालबालिका भर्ना भएको तर उनीहरूलाई कहाँ राखेर कक्षा सञ्चालन गर्ने टुंगो नभएको सरस्वती विद्यालयकी प्रधानाध्यापक इन्दिरा महतले बताइन् । विद्यालयमा सुकुमवासी बस्ती र अन्य बस्तीका मिश्रित रूपमा भर्ना भएर पठनपाठन गर्दै आएका थिए । ‘वडा नम्बर १ को वडा कार्यालयमा सामुदायिक भवनका ५–६ वटा कोठा खाली रहेछन् । विद्यालयका सरसामान त्यहीं लगेर राखेका छौं,’ उनले भनिन्, ‘डेढ सय विद्यार्थीले भर्ना लिइसके । कहाँ राखेर ती बालबालिकालाई पढाउने ठेगान छैन ।’ याे समाचार कान्तिपुरमा छ ।





