मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मूलखबर संवाददाता
मनाङ, १६ बैसाख

औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । तर, यहाँ जडीबुटीको संरक्षण, प्रवद्र्धन र मौसममा मात्रै भर पर्नुपर्ने अवस्था रहेको छ । जसले औषधीय जडीबुटीको गुणस्तरमा असर पर्ने गरेको पाइन्छ । मुख्य आयस्रोतको रूपमा रहेको औषधीय जडीबुटी यार्सागुम्बा आजदेखि सङ्कलन सुरु भएको छ ।

औषधीय जडीबुटीले भरिपूर्ण मनाङका लेकमा हुने यार्सागुम्बा सङ्कलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका धेरै खर्कमा यार्सागुम्बा पाइने भए पनि सङ्कलन भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा सङ्कलन थालिएको छ ।

“यार्सा पाइने नजिकको खर्कबाट सङ्कलन सुरु भएको छ । पहिलाको भन्दा उत्पादनमा ह्रास आउदै गएको सङ्कलनकर्ताले जनाएका छन्”, उहाँले भन्नुभयो, “यो समस्याको रूपमा विकास भएको देखिँदै गएको छ ।”

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र संरक्षण व्यवस्थापन निर्देशिका २०५६ हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटीको सङ्कलन अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले सङ्कलनकर्तालाई आफ्नो कार्यक्षेत्रभित्र सङ्कलन पूर्जी दिने गरेको छ ।

जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रभित्रका वन क्षेत्रमा यार्सागुम्बा सङ्कलन अनुमति दिने र जिल्ला बाहिरका नेपाली नागरिकलाई यार्सागुम्बा सङ्कलन सम्बन्धित संरक्षण व्यवस्थापन समितिमा निर्भर रहने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।

कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउने हुन्छ । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्दछन् । नार्पाभूमिका खर्कमा जिल्लाभित्रका नागरिकलाई मात्र यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइन्छ भने बाहिरी जिल्लाका नागरिकलाई अनुमति दिने प्रावधान छैन ।

उहाँले भन्नुभयो, “भौगोलिक रूपमा नै विकट भएकाले सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमिका खर्कमा यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको छैन । अन्य स्थानीय तहका खर्क खाङ्सार, हुलाकी ओडार र पिसाङलगायतका जिल्लाका सबै खर्कमा यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।” स्थानीय मात्रै सङ्कलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको एक्यापले जनाएको छ ।