निजी विद्यालयमा छात्रवृत्ति पाउने विद्यार्थीको विवरण सार्वजनिक गर्न निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयमा छात्रवृत्ति पाउने विद्यार्थीको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत शिक्षा मन्त्रालय सोमबार स्थानीय तह र निजी विद्यालयहरुलाई निर्देशन दिएको हो ।
कुल विद्यार्थीको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र उक्त छात्रवृत्ति पाउने विद्यार्थीको विवरण सार्वजनिक गर्न भनिएको छ । गरिब, अपांगता, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराई उनीहरुको नामावली आईईएमआईएस मा अद्यावधिक गर्न निर्देशन दिइएको छ ।
‘छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण सम्पूर्ण अभिभावकले देख्ने सुनिश्चित हुने गरी विद्यालयहरुले सार्वजनिक गर्ने, विद्यालयले प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे/नगरेको अनुगमन गरी नगर्ने विद्यालयहरुलाई तत्काल अद्यावधिक गर्न लगाउने साथै विद्यालयहरुले प्रद्यान गरेको छात्रवृत्ति सम्बन्धित विद्यार्थीले प्राप्त गरेको/नगरेको सम्बन्धमा अनुगमन गरी छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम कारबाही गर्न स्थानीय तहरुलाई समन्वय एवं सहजीकरण गरिदिनुहुन निर्देशानुसार अनुरोध छ,’ शिक्षा मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलले संघीय मामिला मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ ।





