जेनजी आन्दोलनमा जलेका भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम

मूलखबर संवाददाता
भरतपुर, १२ चैत

गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । एकीन तथ्याङ्क नभए पनि २ लाख हाराहारी श्रेस्ता कार्यालयमा रहेको अनुमान छ ।

आगजनीका कारण सबै कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालयले जग्गाधनी प्रमाणपत्रको नयाँ श्रेस्ता कायम गरिरहेको छ । सोहीबमोजिम मालपोत कार्यालय भरतपुर जिल्लाका सातवटै पालिकालाई जग्गाधनीको नयाँ श्रेस्ताका लागि सिफारिस प्रदान गर्न पत्राचार गरेको थियो । कात्तिक महिनाबाट फागुनसम्ममा आठ हजार नयाँ श्रेस्ता कायम भएको कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा मालपोत कार्यालय भरतपुरका अधिकांश अभिलेख जलेका थिए । अभिलेख जलेपछि जग्गा सम्बन्धि जुन सुकै काम गर्नका लागि पनि नयाँ श्रेस्ता कायम गर्नु पर्दछ । कामको चापका कारण जग्गा बिक्रि बितरण, वन्दक लगाएतका काम परेकाहरुको मात्र नयाँ श्रेस्ता कायम गरिएको अधिकारीले जानकारी दिनुभयो । कामको चाप कम भए पछि अन्यको हकमा समेत सूचना जारी गरी क्रमशः श्रेस्ता कायम गर्ने कार्यालयको तयारी छ ।

उहाँले भन्नुभयो, “आफ्नो जग्गा दाबी गर्न जग्गाधनी आफैँ आउनुपर्ने हुन्छ । दैनिक ९० वटा हाराहारी श्रेस्ता कायम हुने गरेको उहाँले जानकारी दिनुभयो । कार्यालयको भवन काम गर्न सक्ने अबस्थामा छैन । टहरामा काम भईरहेको छ । वनेका श्रेस्ता समेत भण्डारणको समस्या देखिएको छ । नयाँ श्रेस्ता कायम गर्न १० प्रकारका कागजात आबश्यक पर्दछ ।

अधिकारीका अनुसार नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गाधनी यकिन गर्ने स्थायी ठेगाना भएको स्थानीय तहको तीनपुस्ते फोटो टाँससहितको सिफारिस, जग्गाधनीसँग भएको सक्कल पूर्जा, जग्गा प्राप्तिको स्रोतमा लिखितबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा पेस गर्नुपर्ने हुन्छ । ”