एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार
विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको हो ।
संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले संघद्वारा नेपाल सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालहरुको आन्तरिक श्रोतबाट निःशुल्क उपचार गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सन् २०२५ मा संघको सञ्जाल मार्फत ३३ लाख ७८ हजार ४२ जना आँखाका बिरामीहरुको आँखा परीक्षण गरि २ लाख ६६ हजार ४०१ जनाको शल्यक्रिया गरिएको छ । कार्यकारी निर्देशक डा.मिश्रले भन्नुभयो, “ सन् २०२५ मा संघद्वारा सञ्चालित आँखा अस्पताल, उपचार केन्द्र तथा विभिन्न वाह्य कार्यक्रमहरु मर्फत २५ हजार ५ सय ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको छ ।”
लमजुङमा शाखा विस्तार
नेपाल नेत्रज्योति संघ लमजुङको काठमाडौंमा बुधबार सम्पन्न परामर्श भेलाबाट वरिष्ठ नेत्र राेग विशेषज्ञ डा. दिपबहादुर कार्कीको संयाेजकत्वमा जिल्ला तदर्थ समिति गठन भएको छ । समितिकाे सचिवमा उत्तरकुमार श्रेष्ठ र काेषाध्यक्षमा सिर्जना बराल अधिकारी चयन हुाुभएकाे छ भने कार्यसमिति सदस्यहरूमा जनक मिश्र, भिम बहादुर कार्की, रामप्रसाद पाैडेल, गाेमा थापा, मधुविलास पाैडेल, वसन्त थापालगायत रहनुभएकाे छ ।





