अमेरिका इजरायल र इरान युद्वकाे असर नेपाली उद्योगसम्म, प्लाष्टिक दाना नपाउँदा उद्योग बन्द हुँदै

मूलखबर संवाददाता
बुटबल, ९ चैत

इजरायलले शुरू गरेकाे इरानमाथिकाे आक्रमण र इरानले गरेकाे जवाफी हमलाबाट भड्किएकाे मध्यपुर्व पुद्वका कारण सिमाका नेपाली उद्योगमा गम्भीर असर पर्न थालेको छ ।

इरान–इजरायल–अमेरिका यद्धका कारण कच्चा पदार्थको आयात प्रभावित भएपछि नेपाली उद्योगको उत्पादनमा गिरावट आएको छ । कच्चा पदार्थ र उपभोग्य सामान महँगिएसँगै भान्सासम्म समेत त्यसको असर देखिइसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको ४० प्रतिशतले मूल्यवृद्धि भएको छ । त्यसले नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थ माग अनुसार आपूर्ति हुन सकेको छैन ।

अहिले सबैभन्दा बढी प्लास्टिकजन्य उद्योगहरूमा प्रयोग हुने प्लास्टिक ‘दाना’ को चरम अभाव सुरु भएको छ । त्यससँगै भारत हुँदै नेपाली भान्सासम्म पुग्ने भटमास र सूर्यमुखी तेलका लागि आवश्यक कच्चा पदार्थको आयात समेत प्रभावित भएको छ ।

प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योगमा संकट गहिरिएको छ । पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, मोटरसाइकलका हेल्मेट कम्पनी, प्लास्टिकका कुर्ची, प्याकेजिङका प्लास्टिक, कार्टुन लगायतका सामग्री उत्पादनमा पहिलो असर परिरहेको उद्योगीको गुनासो छ ।

कच्चा पदार्थ अभावले बुटवल औद्योगिक क्षेत्र, भैरहवा–परासी औद्योगिक करिडोरमा सञ्चालित उद्योग बन्द हुने अवस्था सिर्जना हुन थालेको छ ।