तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना

मूलखबर संवाददाता
काठमाडौं, ५ चैत

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख
काठमाडौँ, ५ चैतः यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो सप्ताह चलिरहेको छ ।

यही अवधिमा वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मुलुकमा पछिल्लो १३ वर्षको ‘स्याटेलाइट’ तथ्याङ्कअनुसार डढेलोको जोखिम बढिरहेको उल्लेख छ ।

विभागको तथ्याङ्कमा विसं २०७० देखि २०८२ सम्म देशभर १३ हजार ६२२ वटा वन डढेलो घटना अभिलेख भएका छन् । वन डढेलो गम्भीर वातावरणीय चुनौतीका रूपमा देखिएको छ । प्रतिवेदन अनुसार नेपालमा वन डढेलो मौसमी प्रकृतिको देखिन्छ । कूल घटनामध्ये करिब ८९ प्रतिशत वन डढेलो फागुनदेखि वैशाखसम्म भएका छन् । त्यस अवधिमा समयमा लामो सुख्खा, न्यून आद्र्रता, उच्च तापक्रम, हावाको तीव्रता, कृषि अवशेष जलाउने प्रचलन, वन क्षेत्रमा मानव गतिविधि वृद्धिका कारण वन डढेलोको जोखिम बढी हुने उल्लेख छ ।

वैशाख महिनामा कूल घटनाको करिब ५७ दशमलव ७ प्रतिशत वन डढेलो भएको जनाइएको छ । विसं २०७३ लाई सबैभन्दा गम्भीर वन डढेलो वर्षका रूपमा देखाइएको छ । विसं २०७८ र २०८१ मा उल्लेख्य सङ्ख्यामा डढेलोका घटना अभिलेख गरिएका छन् ।

विभागको विश्लेषणात्मक प्रतिवेदनअनुसार विसं २०८२ वैशाख १ देखि फागुन २९ सम्म देशभर कम्तीमा २८२ वटा डढेलोका घटना अभिलेख भएका छन् । प्रतिवेदनअनुसार गत वैशाख १ देखि फागुन २९ सम्म वन डढेलो देशका सातै प्रदेशमा फैलिएको भए पनि सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । सो प्रदेशमा मुलुकको कूल घटनाको करिब एक तिहाइ अर्थात् ३३ दशमलव ३ प्रतिशत वन डढेलो गएको थियो । प्रदेशगत रूपमा बागमतीमा १९ दशमलव १ र कर्णालीमा १६ दशमलव ७, गण्डकी प्रदेशमा ९ दशमलव ६, लुम्बिनी प्रदेशमा ८ दशमलव ९, कोशी प्रदेशमा ८ दशमलव २ र मधेश प्रदेशमा ४ दशमलव ३ प्रतिशत वन डढेलोका घटना भएका छन् ।