हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको अभाव
जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका स्थानीय बताउँछन् ।
सिमकोट गाउँपालिका-४ बुराउँसेस्थित ठाँडाढुङ्गाको केउकेउ मूलबाट ल्याइएको पानी भण्डारण गर्ने ट्याङ्कीमा नभरिएपछि पानीको अभाव भएको स्थानीय नैनसिंह रावतले बताउनुभयो । नाम्खा गाउँपालिका-१ मा पर्ने ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइए पनि उक्त ठाउँको बीचबीचमा बरफ जमेपछि पानीको सङ्कट देखा पर्न थालेको उहाँको भनाइ छ ।
पहिलेपहिले करिब १० फिटसम्म हिमपात भए पनि खानेपानीको अभाव नहुने बताउँदै रावतले यस वर्ष खडेरीले गर्दा जिल्लाभरिका अधिकांश मूल सुक्न थालेकाले खानेपानीको समस्या भएको उल्लेख गर्नुभयो ।





